-
दर्पण ब्लाेन तामाङ
आजको दिन हामी सबैको विशेष दिन हो । प्रसँग २५ औं विश्व आदिवासी दिवसको हो । ९० फरक फरक देशहरुमा छरिएर रहेका ३ सय ७० मिलियन आदिवासीहरुको ५ हजार भन्दा बढी फरक–फरक संस्कृति अनि विश्वमा बोलिने ७ हजार भाषा मध्ये २ हजार ६ सय ८० भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।
नेपालकै सन्दर्भमा पनि १ सय २५ जाजजाति र १ सय २३ मातृभाषा रहेको भनिएकोमा करिब २ दर्जन भाषा र केही जाती नै लोपोन्मुख अवस्थामा पुगेका छन् । यहाँ विविध जाति, भाषा, धर्म र संस्कृतिको महत्व नबुझ्ने र बुझपचाएर एकल साम्प्रदायिक तर्क गर्नेहरुको पनि कमी छैन । तर सबैले बुझ्नै पर्ने, स्वीकार्नै पर्ने बहुलवादी नेपाली समाजको यथार्थता भने हाम्रो माझ जिवितै छ । आदिवासी जनजाति र यिनीहरुको भाषा किन महत्वपूर्ण छ ?
यो यथार्थ आवाश्यकतालाई बुझ्नु पर्दछ । यसै सन्दर्भमा आदिवासी जनजातिहरुको विगतको विभिन्न मूल्य, मान्यता, अधिकार र विकासे कार्यक्रमको अतिरिक्त पुनः संयुक्त राष्ट्र संघीय महसभाले सन् २०१६ मै जीवन र जगतलाई बुझ्ने ज्ञान पाउन, दीगो शान्ति र विकास गर्न, मानव अधिकार, स्वतन्त्रता, सामाजिक समानुपातिक, समावेसी, साक्षरता आदि बढाउन, गरिबी र भ्रष्टाचार घटाउन, अलग अलग तर मौलिक पहिचानको संरक्षण अनि साँस्कृतिक समृद्धि लगायत आदिवासीहरुको सर्वपक्षीय वृद्धि, विकास र समृद्धिको आवश्यकता सम्बन्धी घोषणापत्र जारी गर्दै सन् २०१९ लाई विश्व आदिवासी भाषा वर्षको रुपमा घोषणा गरेको थियो ।
त्यसैले न्याय, अधिकार र समानताको लागि एकतावद्ध भई विभिन्न क्रियाकलापहरु गरी यस वर्षलाई परिणाममूखी बनाउन हामी सबै जुट्नु पर्ने देखिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















