फोटो/गोरखापत्र अनलाईनबाट
जुम्ला । खलङ्गा साउन २३ गते । कानुनी रुपमा छोरा छोरीबीचको विभेद बन्देज छ तर जुम्लामा यस्तो विभेद अहिलेसम्म पनि कम भएको छैन भन्ने कुराको उदाहरण बनेको बुवाले छोरी जन्मेपछि श्रीमतीसँग गरेका व्यबहार । यो समाचार गोरखापत्र दैनिकमा नेत्र शाहीले लेखेका छन् ।
बुधवार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ बर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माउनुभयो । अस्पतालमा बच्चा जन्मेपछि खुशी छायो । तर श्रीमान वीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमति र छोरीको स्याहार सुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लाग्नुभयो ।
श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान समेत कठिन भएको छ । अस्पतालले एक दिन दुई दिन बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने करा भएन । वीरबहादुर बुधवार घर जाने भन्दै अस्पतालबाट बाहिरिनुभयो ।
काखमा १० दिनको बच्चा, बच्चासँगै कपडा र सामान वोकेर घरतिर जान खोज्दा शरीर काँपेर हिड्न नसक्ने अवस्था भएको पुतलीले बताउनुभयो ।
घर जान नसकेपछि जुम्ला सदरमुकामका धेरै घरमा बास माग्नुभएको थियो तर सुत्ेकरी छुई भएको भन्दै कसैले बस्न नदिएपछि उहाँ सदरमुकामको एक घरको गल्लीमा सुत्ने योजना बनाएको पीडा उहाँले सुनाउनुभयो ।
उहाँ गल्लीमा रोइरहेको समयमा माथिल्लो तलामा रहेको रेडियो नारी आवाजका कर्मचारीहरूले थाहा पाए । पत्रकार गीता शाही, स्टेशन म्यानेजर दिलमाया शाहीले पुतलीलाई रेडियोको प्राविधिक कोठामा लिएर आश्रय दिनुभयो । सुत्केरी अवस्थामा दिनभर खाजा समेत नपाएकी पुतलीलाई नारी आवाजले खाजा खुवाएको थियो ।
प्रतिष्ठानमा पुन आश्रय
पुतलीको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेलाई जानकारी भएपछि तत्कालीन आश्रयका लागि मध्यरातमा पुनः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पु¥याइएको छ । आपतकालीन रुपमा उहाँलाई प्रतिष्ठानको इमरजेन्सी विभागको कोठामा राखिएको कर्णाली प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले जानकारी दिनुभयो । उहाँका अनुसार आश्रय नै नभएपछि विशेष हेरचाह सहित निःशुल्क रुपमा राखिएको उहाँको भनाइ छ ।
उहाँ बच्चा जन्माउनका लागि भर्ना हुन साउन ७ गते आउनुभएको र साउन १३ गते छोरी जन्मेकी थिइन । खुट्टामा रड हालेका कारण सुत्केरी पुतलीले अस्पतालमा थप केही दिन बस्नु परेको थियो । श्रीमान् बीरबहादुरले भने छोरी जन्मेको तीन दिनमा घर गइसकेको अस्पतालले जनाएको छ । श्रीमान्लाई तत्काल वोलाएर समस्याको सामाधान गर्न पहल थालिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिनुभयो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।