काठमाडौँ । लोकसेवा आयोगले निकालेको विज्ञापनमा आरक्षण हटाएको भन्दै भइरहेको आन्दोलनमा प्रहरीले हस्ताक्षप गरेको छ । ‘आरक्षण बचाऔं’ आन्दोलन गरिरहेका आन्दोलनकारीहरु माथि आज प्रहरीले हस्ताक्षप गरेको हो । विज्ञापन विरुद्ध प्रदर्शनमा उत्रिएका १९ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।
पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष गोविन्द छन्त्याल, दलित गैसस महासंघका अध्यक्ष, भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन छन् । यस्तै, खगेन्द्र माखिम, दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशीन्द्र यादव, राकेश राई, सीएन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, वाङ्जु तामाङ, जयनकुमार मोक्तान, रमेश थापा मगर, लक्ष्मी थापा र महेश अधिकारी गरी १९ जना रहेका छन् । प्रहरीले उनीहरूलाई प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा लगेर राखेको छ ।
विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट ¥यालीसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १३ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको भन्दै आदिवासी जनजाति, महिला, मधेशी, दलित समुदायले निरन्तर आन्दोलन गर्दै आएको छ । लोकसेवा आयोगले भने आफ्नो विज्ञापनअनुसार परीक्षा लिइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















