काभ्रे । काभ्रेको धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयमा तालाबन्दी गरेको छ । तालाबन्दी काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले गरेको हो । संघले विभिन्न मागहरु राखेर उपकुलपति, रजिस्ट्रार र डीनका दुई वटा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको जनाएको छ ।
विभिन्न समयमा पटकपटक गरिएका सम्झौताको कार्यान्वयन नभएको जनाउँदै आन्दोलनमा उत्रिएका संघले यस अघि गत विहीबार स्कूल अफ साइन्स र स्कूल अफ इञ्जिनीयरिङका डीनका कार्यालयका मूल ढोकामा तालाबन्दी गरेको थियो । तालाबन्दी गर्नुअघि संघका पदाधिकारीले उपकुलपति र रजिस्ट्रार कार्यालयका प्राध्यापक तथा सम्पूर्ण कर्मचारीलाई बाहिर निकालेका थिए ।
‘काठमाडौँ विश्वविद्यालयले पटकपटक गरेका सम्झौता कार्यान्वयनमा सधैँ छलकपटको रणनीति लिएकाले विरोध स्वरूप हामीले तालाबन्दी गरेका हौं ।’ संघका अध्यक्ष डा.वेदमणि दाहालले भने ।
विश्वविद्यालयसँग संझौता भएका विषयहरुः
संघ र विश्वविद्यालय बीच यस अघि विभिन्न विषयमा संझौता भएको थियो । संझौता हुने विषयहरुमा संघले काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ मा भएका विभेदकारी प्रावधान हटाई सम्बन्धित सबै पक्षको सभागितामा संशोधन गर्नुपर्ने, प्राध्यापक तथा कर्मचारीको नियुक्ति, नियमित वृत्तिविकास, प्रोत्साहनका सम्बन्धमा आवश्यक नीति, नियम निर्धारण गरी लामो समयसम्म एउटै पदमा कार्यरत करार÷अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीको विषय संशोधन गर्ने, विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहको अवस्थामा गुणस्तर अभिवृद्धिका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विश्वविद्यालयका कार्यरत प्राध्यापक र कर्मचारीको पेशागत सङ्गठनलाई मान्यता दिई विश्वविद्यालय सङ्गठनात्मक ढाँचामा समावेश गर्ने रहेका छन् ।
स्कूल अफ साइन्सका डीन एवं विश्वविद्यालय परीक्षाका सुपरिटेन्डेन्ट प्रा डा कन्हैया झाले आफूहरुले प्राध्यापक र कर्मचारीलाई कुनै पनि विषयमा दबाब नदिएको बताए । ‘सम्झौता गरेका विषय कार्यान्वयन गराउने सम्बन्धमा छलफल गरी समस्या समाधान गर्न प्राध्यापक संघका पदाधिकारीसँग आग्रह गर्दै आएका हौं ।’ झाले भने, ‘ऐन त विश्वविद्यालय प्रशासनले परिवर्तन गर्न सक्दैन तर अन्य विषयमा छलफल गर्न प्रशासन तयार नै छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।