काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले इस्लाम धर्माबलम्बीहरुको महान् चाड इद–उल–अजहा (बकर ईद) को अवसरमा शुभकामना सन्देश जारी गरेका छन् । आज (सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुलाई शुभकामना व्यक्ति गरेका हुन् ।
‘नेपाल बहुभाषिक, बहुसाँस्कृतिक र विभिन्न धार्मिक समुदायहरुको साझा भूमि हो । देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपाली जनताको पहिचान र विशेषता हो ।’ उनले भनेका छन्, ‘नेपाली जनताको राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रत्याभूत गर्ने वर्तमान संविधानले सबै धर्महरुको उत्तिकै सम्मान गरेको छ । धार्मिक सहिष्णुताको चेतनाका लागि नेपाली समाज एक उदाहरणीय समाजका रुपमा गनिन्छ ।’
प्रचण्डले पुराना सोच, संरचना, मुल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरि नयाँ सोच, मुल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती हामी सामु रहेको चर्चा गर्दै समाजवादको आधार तयार गर्ने दिशा अनुरुप आफूलाई परिस्कृत गर्न आव्हान समेत गरेका छन् । ‘यस पर्वका अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछु ।’ विज्ञप्तिमा भनेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।