काभ्रे । जिल्लाको महाभारत गाउँपालिका वडा नं. १ निवासी नवाङ मोक्तान तामाङ यतिखेर मृत्यु या जीवनको दोसाँधमा छन् । उनलाई ब्लड क्यान्सर भएको छ । बुबा ज्ञानबहादुर मोक्तान, आमा खेलिमाया तामाङको कोखबाट जन्मेका नवाङ यतिखेर १५ वर्षका भए् । उनी ललितपुरमा रहेको सोनिम सागर एकेडेमीमा अध्ययनरत छन् ।

उनको याचना यस्तो छः

जीउन कसलाई मन छैन र ? अल्पायू मै मृत्यु कसैले कल्पना गर्दैनन् । तर नवाङ मृत्युसँग दिनप्रतिदिन संघर्ष गर्न बाध्य छन् । उनी अस्पतालको बेडमा छटपटाईरहेका छन् । उनको जीवनको कुनै ग्यारेन्टी छैन । गरिबी र अभाव उनको लागि जीवनको ठूलो शत्रु भएको छ । उपचारको लागि उनले आर्थिक समस्या ब्यहोरिरहेका छन् ।
नवाङ यतिखेर देश विदेशमा रहेका नेपालीहरुसँग जीवन मागीरहेका छन् । उनले भनिरहेका छन्, ‘के तपाईं मलाई जीवन दिनुहुन्छ ? म जीउन चाहन्छु, तपाईंको सानो सहयोगले मैले जीवन पाउन सक्छ ।’ उनी अस्पतालको बेडबाटै सबैलाई सहयोगको याचना गरिरहेका छन् ।

बाँच्न चाहन्छन् टुहुरो नवाङ

नवाङकी आमा अहिले छैनन् । १९ महिना अघि काभ्रेको रोशी गाउँपालिका वडा नं. ४ निगालेमा बलेरो दुर्घट्ना हुँदा उनी, उनको भाई र बुबालाई सदाका लागि छोडेर गईन । आमाको अभाव झेलिरहेको उनले क्यान्सरसँग लड्नुपर्दा झन् पिडा बोक्नु परेको छ । पढेर समाज र देशको लागि केही गर्ने अनि आमाको सपना पूरा गर्ने धोको अब छायाँमा परेको छ । ‘राम्रोसँग पढेर ठूलो मान्छे बन्नुपर्छ’ भनेर आमाले सम्झाएको कुरा उनको दिमागमा ताजै छ । अचेल आमाको त्यो कुरा भाईलाई भन्छन् नवाङ ।

बुबा सामान्य मजदुर, आशाको केन्द्र नै छोरा

श्रीमती गुमाउँदाको पिडा ताजै छँदा नै नवाङका बुबा ज्ञानबहादुर छोरालाई ब्लड क्यान्सर भएपछि झन् पिडामा छन् । काठमाडौंमै साहुको गाडी चलाइरहेका उनको साहरा वा आशाको दियो भनेको नै तिनै छोरा हुन् । ‘मैले मात्र किन यस्तो पिडा खेप्नु परेको ?’ उनले आँसु झार्दै भन्दै थिए, ‘श्रीमतिले त छोडेर गइन् आज छोरा पनि जीवन र मृत्युको दोसाँधमा छ । म के आशा लिएर जिउने ?’
तर उनले हिम्मत भने हारेका छैनन् । उनी छोरालाई बचाउन सबै ठाउँमा पुग्ने र सहयोग जुटाउने अभियानमा लाग्ने सोंचमा छन् । उनीसँग अहिले पैसा छैन । मजदुरी गर्ने उनी छोराको उपचारमा लाग्नुपर्ने भएपछि आर्थिक अभाव झन व्यहोर्नु परेको छ । ‘गाडी चलाएर अलि अलि पैसा हुन्थ्यो ।’ उनले तेमाल अनलाईनसँग भने, ‘अब त भको पैसा पनि सकियो, कहाँबाट पैसा आउँछ र ?’ अभावले झन पिडा बनाएको उनी बताउँछन् ।

रोग पत्ता लगाउँन नै ३ लाख

शुरुमा नवाङलाई के रोग लागेको छ भन्ने थाहा भएन । उनलाई शुरुमा क्रिष्ट अस्पताल बसुन्धारामा भर्ना गरिएको थियो । यो अस्पतालमा नवाङको रोग नै पत्ता लागेन । त्यसपछि पाटन हस्पिटल भर्ना भयो । केही सीप नलागेपछि बोनम्यारो चेक गर्न भारतमा पठायो । भारतबाट रिपोर्ट आउँदा नवाङलाई ब्लड क्यान्सर भएको पत्ता लाग्यो । यतिन्जेसम्ममा उनको उपचारको लागि ३ लाख रुपैयाँ सकिसकेको थियो । अनि हाल उनी १७ दिनदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत छन् ।

उनको उपचारको लागि १२ देखि १७ लाख लाग्ने

नवाङको उपचार हुन अब १२ लाख देखि १७ लाख रुपैयाँ आर्थिक आवश्यकता रहेको अस्पताललाई उदृत गर्दै ‘नवाङ मोक्तान बचाआंै अभियान’का संयोजक विछोड तामाङले तेमाल अनलाईनलाई बताए । छोरोको उपचारमा आफूसँग भएको पैसा पनि सकिएपछि नवाङका बुबा ज्ञानबहादुर निक्कै नै अन्योल र पिडामा छन् । ‘मसँग ३ लाख पैसा थियो सबै सकिए ।’ उनी भन्दै थिए, ‘अब यत्रो पैसा कहाँबाट ल्याउने होला मैले ? मेरो छोरा अल्पायूमै सकिने भयो ।’ आखिर छोराको उनले ठूलै सपना देखेका रहेछन् । ‘छोरालाई म देश र समाज प्रति जिम्मेवार मान्छे बनेको देख्न चाहन्थें तर आज मेरो सपनामा तुषारापात भएको छ ।’ आँसुको धारा बगाउँदै उनले भने ।

‘नवाङ मोक्तान बचाऔं’ अभियान आजैबाट

भर्खरका कलिलो बालक नवाङलाई बचाउन केही युवाहरु लागेका छन् । देश–विदेशमा रहेका नेपालीसँग सहयोग माग्न र व्यवस्थित एवं पारदर्शि बनाउन युवाहरुले अब आधिकारीक रुपमै ‘नवाङ मोक्तान बचाऔं अभियान’ थालेको छ । विछोड तामाङको संयोजकत्वमा यो अभियान अगाडि बढ्ने भएको छ । सदस्यहरुमा कोकिल स्याङ्तन, पदम प्रसाद तिमल्सिना, सन्जय लो, रेसम योन्जन, भिम जिम्बा, दिनेश घिसिङ, बिन्दास योन्जन, तस्बिर बोम्जन, देसभक्त लामा, जितेन्द्र योन्जन लगायतका रहेका छन् ।

यसरी गर्न सकिन्छ नवाङलाई सहयोग

अभियान शुरु भएपछि कृषि विकास बैंक, बनेपामा ‘नवाङ मोक्तान बचाऔं अभियान’ नाममा खाता समेत खोलिएको छ । खाता नम्बर ०२–१२६–०१४८७२१९–०१–४ रहेको छ । यो खाता अभियानका संयोजक बिछोड जिम्बा, ज्ञानबहादुर मोक्तान (ब्लड क्यान्सर पीडित नवाङ मोक्तानको बुबा) र कर्माचारी सदस्य भिम बहादुर जिम्बाको संयुक्त हस्ताक्षरबाट चल्ने छ ।
सहयोग गर्न इच्छुक महानुभावहरुलाई उक्त खाता नं. वा मोबाइल नम्बर ९८६६३९४२२२ मा सम्पर्क गर्न सकिनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।