काठमाडौँ । विद्यालय तहको परीक्षामा सबभन्दा बढी विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा कमजोर देखिएका छन् । कक्षा १० ९एसईई० र कक्षा १२ को नतिजामा ती विषयमा धेरै विद्यार्थीले कम ग्रेड प्राप्त गरेका छन् । एसईई परीक्षामा गणितमा सीभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या उच्च रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
भदौ १ देखि सञ्चालन हुने कक्षा १० को ग्रेड वृद्धिरपूरक परीक्षामा गणित, विज्ञान र अंग्रेजी विषयका परीक्षार्थी धेरै रहेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जनाए । ‘त्यसमा पनि गणित विषयमा कम ग्रेड ल्याएर पूरक परीक्षा दिने विद्यार्थीको संख्या बढी छ’ उनले भने । विगतमा पनि यी विषयमा नतिजा कमजोर थियो ।
कक्षा १२ को नतिजाअनुसार सबभन्दा बढी विद्यार्थीले अंग्रेजी विषयमा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका छन् । ‘सी वा डी प्लस’ भन्दा कम ग्रेड प्राप्त गरी पूरक परीक्षा दिन पाउने विद्यार्थीको संख्या १ लाख ६० हजार छ । ४ लाख ७५ हजार परीक्षार्थीले एसईई परीक्षा दिएकामा झन्डै ५० प्रतिशत विद्यार्थी नतिजा प्रकाशनको एक महिनापछि ग्रेड वृद्धि परीक्षामा सहभागी हुन लागेका हुन् । कक्षा १२ मा २ लाख ९२ हजार परीक्षार्थीले परीक्षा दिएका थिए । ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थी ५० प्रतिशतभन्दा बढी छन् । कक्षा १२ को पूरक परीक्षा भदौ २२ र २३ गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सामुदायिक विद्यालयमा विषयगत शिक्षक अभाव भएका कारण नतिजामा असर परेको सरकारबाट गठित शिक्षक दरबन्दी मिलान कार्यदलका संयोजक महाश्रम शर्माले बताए । ‘९ कक्षाभन्दा माथि विषयगत शिक्षक अभाव छ,’ उनले भने, ‘गुणस्तरीय शिक्षक अपुग हुँदा रिजल्टमा प्रत्यक्ष असर पर्ने गरेको छ ।’
सामुदायिक विद्यालयमध्ये अंग्रेजी, गणित र विज्ञान विषयमा पूरै दरबन्दी भएका विद्यालय ७० वटामात्र छन् । ‘सरकारले विगतमा विषयगत शिक्षक नियुक्ति गरेन, तल्लो तहका शिक्षकले माथिल्लो कक्षामा पढाइरहेका छन्,’ शर्माले भने, ‘जसोतसो पढाइ चलिरहेको छ, त्यसरी नतिजा सुधार हुन सक्दैन ।’ विद्यालयहरूमा शिक्षक विद्यार्थीको अनुपात पनि असमान छ । कार्यदलले तराई, पहाड र हिमालमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी तत्काल मिलान गर्न औंल्याएको थियो । यो समाचार कान्तिपुर दैनिकमा छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















