काठमाडौं । प्रकाश दाहालको नाममा दुबईको एक बैंकमा २१ अर्ब रुपैयाँ रहेको भन्दै भएको प्रचार प्रति प्रचण्ड सचिवालयले कडा प्रतिक्रिया दिएको छ ।
प्रचण्डको सचिवालयद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वहरु योजनाबद्ध ढंगले लागि परेको र यस्ता अनर्गल प्रचारको पछि नलाग्न अनुरोध गरेको छ ।
यस्तो छ प्रचण्डको सचिवालयको विज्ञप्ती
आदर्णीय जनसमुदाय
यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् । यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् ।
दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ ।
यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो । कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।
२८ साउन, २०७६
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















