काठमाडौं । आत्महत्या गरिएको भनिएको पत्रकार शालिकराम पुडासैनीको अन्तिम भिडियो बहिरिए सँगै चितवन प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामेछाने विरुद्ध कार्वाही प्रक्रिया अघि बढेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दानबहादुर मल्लले पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता लामिछानेविरुद्ध कारवाही प्रक्रिया अघि बढेको बताएका हुन् ।
पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो ।
बुधबार पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा एसपी मल्लले यस्तो बताएका हुन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला मल्लले रविसहित तीनजनाविरुद्ध कारवाही थालिएको जानकारी दिएका छन् ।
भिडियाे
पत्रकार पुडासैनीले भिडियोमा रवि, युवराज कँडेल र ओखलढुंगाकी युवती अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको कुरा भिडियोमा बोलेका छन् । एसपी मल्लले असार २१ देखि नै चितवन प्रहरी यही प्रकरणको अनुसन्धानमा जुटेको बताएका छन् । ’म यही विषयमा लागि रहेको छु । प्रहरीले उहाँ (रवि लामिछाने) लाई सम्पर्क गरिरहेको छ ।’, एसपी मल्लले भने, ’अब पक्राउ गरी कारवाही प्रकृया अघि बढाइन्छ। म त्यो प्रकृयामा लागिसकेको छु।’
एसपी मल्लले पुडासैनीको मोबाइल फोन र उक्त फोनमा रहेका अडियो, भिडियो ल्याबमा परीक्षण भइसकेको पनि जानकारी दिए । उनका अनुसार ल्याव परीक्षणबाट मोबाइलमा भेटिएको भिडियोको आवाज पुडासैनीकै पुष्टि भएको छ। ’विधि विज्ञान प्रयोगशालामा गरिएको ल्याव रिपोर्ट पनि आइसेको छ’, मल्लले भने, ’किटाणी जाहेर आएपछि अब कारवाही प्रक्रिया अघि बढ्छ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















