काठमाडौं । सगरमाथा आरोही काभ्रेकी चेली शर्मिला तामाङले युरोपकै सबै भन्दा अग्लो हिमाल एल्ब्रुसमा नेपालको झन्डा फहराएकी छन्। शर्मिलासहित सात जनाको टोलीले उक्त हिमालको सफल आरोहण गरेका हुन् ।
उनले यही सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन्। सात महादेशका सात उच्च हिमाल आरोहण (सेभेन समिट)को योजनाअनुसार रूसमा रहेको एल्बु्रस हिमाल पुगेकी थिइन् । ‘यो हिमाल नेपालका हिमालजस्तो सुरक्षित रहेनछ। हावा चल्ने भएकाले डर लाग्यो ।’, उनले भनिन्, ‘एल्ब्रुस हिमाल टेक्निकल भने रहेनछ । हाम्रो हिमाल भने टेक्निकल छन् ।’
अब पाँचवटा हिमाल आरोहण गर्न बाँकी रहेको उनले सुनाइन् । उनका अनुसार एल्ब्रुस हिमाल चढ्न आधारशिविरबाट नौ घण्टा लाग्यो। सगरमाथा भने क्याम्प ४ बाटै १३ घण्टा लागेको थियो ।
उनको टोलीमा रुसी नागरिक गरिक र एगर तथा नेपालीहरू वाङ्दा शेर्पा र राजेश्वरी श्रेष्ठ रहेका छन् । दुई जना नेपालीको आरोहण भने सफल भएन । उनले मानव बेचबिखचनविरुद्ध र महिला सशक्तीकरणको नारासहित हिमाल आरोहण थालेकी थिइन् । उनी च–टुर्स ट्रेक एन्ड एक्सपिडिसन कम्पनीमार्फत रुस गएकी हुन् । उक्त हिमाल ५ हजार ६ सय ४२ मिटर उचाइमा पर्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।