म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह)ले अब स्थानीय तहमा वडा अध्यक्षलाई निशाना बनाउन थालेको छ । चन्द आतंकदेखि भौतिक कार्वाहीसम्मको योजना लिएर उनीहरु गाउँ–गाउँमा आफ्नो गतिविध बढाउन थालेको देखिन्छ ।
यसैक्रममा म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ ज्यमरुकोट भकुन्डेका वडा अध्यक्ष हिराबहादुर थापा विप्लब समूहले कालोमोसो दल्नुको साथै जुत्ताको माला समेत लगाएको छ ।
नेकपाका कार्यकर्ताहरुले कार्यालयमै पुगेर थापालाई कालोमोसो दलेका हुन् । वडाअध्यक्ष थापाले विनियोजन गरिएको बजेटबाट कमिसन खाने गरेको, कार्यालय सहयोगीसँग अनैतिक सम्बन्ध राखेको, पार्टी विरुद्ध सुराकी गरेको लगायतका आरोप लगाएको छ ।
त्यसैगरी भ्रष्टाचार गरेको, राजश्व संकलनमा नाता–आफन्तलाई मात्रै प्राथमिकता दिने गरेको, बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँदै ‘जनकारबाही’ स्वरुप कालोमोसो दलिएको नेपाल कम्युनिस्ट पार्टी म्याग्दीले जनाएको छ ।
पटकपटक सुझाव दिँदापनि सुधार नभएकाले चेतावनी स्वरुप अध्यक्ष थापालाई कालोमोसो दल्नुको साथै चप्पलको माला लगाएर जनकारवाही गरेको उनीहरुले बताएको छ ।