कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गरिएको छ । उक्त बम विस्फोट नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ ।
कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदै गर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री शाहीको पचाल झरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउँदै गरेको अवस्थमा रास्कोटको कृर्षि जेटिए कलेज नजिकै विप्लवका कार्यकर्ताले बम बिस्फोट गराएका हुन् ।
कार्यक्रमभन्दा बाहिरको स्थानमा बम विस्फोट भएको डिएसपी विनोद शर्माले जानकारी दिए। एक हप्ता लामो समयका लागि गृह जिल्ला भम्रणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले दिनदिनै बम विस्फोट गर्दै आएका छन् ।
बुधबार पचालझरना गाउँपालिकाको विषेश अधिवेशन उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थलभन्दा केही पर दुई पटक बम विस्फोटको आवाज सुनिएको बताएका थिए । विस्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गरेको बताइएको छ । विस्फोटमा कुनै मानवीय क्षति नभएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















