काभ्रे । जिल्लाको मण्डन देउपुर नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाहरुले अब नगरपालिकाबाट मासिक १५ सय रुपैयाँ पाउने भएको छ । शुक्रबार नगरपालिकामा आयोजित एक कार्यक्रममा नगर प्रमुख टोकबहादुर वाईबाटले उक्त कुराको घोषणा गरेका हुन् ।
‘महिला स्वयंसेवीहरुलाई यतायात खर्चबापत प्रति महिना १ हजार ५ सय दिनेछौं ।’ नगर प्रमुख वाईबाले भने, ‘नगरको प्राथमिकता स्वास्थ्य र शिक्षामा हो । त्यसैले महिला स्वास्थ्य स्वयं सेविकाहरुको भूमिका महत्वपूर्ण हुनेभएकोले भत्ताको व्यवस्था गरेको हो ।’
नियमित बैठक गरौं
नगर प्रमुख वाईबाले स्वास्थ्य चौकीको बैठक नियमित बस्न सबैलाई अनुरोध समेत गरे । उनले वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीलाई निर्देशन दिंदै नगरको केन्द्रबाट टाढा रहेका संस्थााहरुमा प्राथमिकतका साथ कार्यक्रम विस्तार गर्न आग्रह समेत गरे ।
अब प्रत्येक वडामा खोप केन्द्र
नगर प्रमुख वाईबाले नगरपालिकाको सबै वडामा खोप तथा गर्भजाँच केन्द्र निर्माण गर्ने बताए । ‘चालु आर्थिक वर्षमा प्रत्येक वाडामा खोप तथा गर्भजांच केन्द्र निर्माण गर्नेछौं ।’ वाईबाले भने, ‘यस्का लागि बजेटसमेत ब्यबस्थापन गरेको छु ।’
कार्यक्रममानगर उपप्रमुख निर्मला शाही, नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, गोरखापत्र सस्थानका कानुनी सल्लाहकार कुमार भट्टराई, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कमलेश मिश्र, कार्यपालिका सदस्य सावित्री जमकट्टेल, झलक पौडेल, स्वास्थ्य चौकी इन्चार्ज सत्यनारायण ठाकुर, महिला स्वास्थ्य स्वयंसेविका सीता लामा लगायतले मन्तव्य राखेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















