धुलीखेल । अर्थमन्त्री डा. युवराज खतिवडाले अब सरकार करको दरलाई बढाउने पक्षमा नरहेको बताएका छन् । काभ्रेको धुलिखेलमा निर्माण सम्पन्न गरेको आन्तरीक राजश्व कार्यलय धुलिखेलको भवन आज (शुक्रबार) उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् ।
‘अब करका दरहरु बढाउनसक्ने अवस्था छैन । ती सबै आय कर प्रणालीका करहरु नै हुन् । २० लाखभन्दा बढी आय आर्जन भएकाहरुको लागि ३६ प्रतिशत छ ।’ खतिवडाले भने, ‘संस्थागत आयकरलाई पन्ध्रौं वर्षदेखि बढाइएको छैन । अब करको दरलाई बढाउने पक्षमा सरकार छैन ।’
अर्थमन्त्री खतिवडाले मुलुकमा साक्षर नागरिक र करका बारेमा प्रश्न उठ्दा करदाता शिक्षालाई पनि अगाडि बढाउनु पर्नेमा जोड दिए । ‘अहिले हामी कस्तो कर प्रणाली चाहान्छौ त ?’ उनले भने, ‘हामीले चाहेको कर प्रणली भनेको इमान्दार व्यबसायीले प्रतिस्पर्धी रुपमा व्यवसाय गर्ने वातावरण बन्नु पर्यो । अहिलेको सरकारले चाहेको कर प्रणली भनेको यहीे कर प्रणाली हो ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला प्रहरी कार्यालय प्रमुख जयबाहादुर सापकोटा, धुलिखेल नगरपालिकाका प्रमुख आशोक व्यान्जू, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, अर्थ मन्त्रालयका सचिव लालसंकर घिमिरे, आन्तरीक राजश्व कार्यालयका महानिर्देशक विष्णुप्रसाद नेपाल लगायतका उपस्थिति रहेका थिए । यस कार्यालयबाट काभ्रे लगायत सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।
भिडियो हेर्नुहोस्ः