काभ्रे । जिल्ला कै सबैभन्दा पूरानो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा सञ्चालन भएको प्लस टु प्राविधिक धार (कम्प्युटर इन्जीनियर) स्वतः बन्द हुने भएको छ । नेपाल सरकारको नीति तथा निर्देशन अनुसार कक्षा ९ र १० सञ्चालन नहुने भएपछि प्राविधिक शिक्षा तर्फको प्लस टु बन्द हुने भएको हो ।
सोमबार काभ्रे क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख केजी बैदारले काभ्रे क्याम्पसमा सञ्चालन भएको प्राविधिक धार (कम्प्युटर इन्जीनियर) अन्तर्गत सञ्चालन भएको प्लस टु खारेज हुने जानकारी दिए । काभ्रे जिल्ला भरिमा काभ्रे क्याम्पसमा मात्र प्लसटु कम्प्युटर इन्जीनीयरको पढाई हुन्छ । बैदारका अनुसार बनेपा नगरपालिकाले कक्षा ९ र १० सञ्चालनको लागि अनुमति नदिएको कारण प्लस टु बन्द हुने अवस्थामा पुगेको हो ।
कक्षा ९ र १० सञ्चालन अनुमति दिने दायित्व बनेपा नगरपालिकाको भएपनि अनुमति नदिएको बैदारले बताए । ‘के कारणले दिएन मलाई थाहा छैन । उहाँहरुले पनि केही भन्नु भएको छैन ।’ बैदारले भने, ‘अब हामीले ९ र १० कक्षा सञ्चालन गर्न नसकेको कारण प्लस टु बन्द हुन्छ ।’ प्लस टु बन्द हुनुमा बनेपा नगरपालिका मुख्य जिम्मेवार रहेको बैदारले बताए ।
आफ्नो हाताभित्र क्याम्पसले निर्माण गरेको पर्खाल बिना जानकारी नगरपालिकाले भत्काएपछि क्याम्पस र नगरपालिकाबीच द्वन्द्व चर्केको थियो । जसको कारणले विश्वविद्यालय अनुदानको करिब ४ करोड बजेट कार्यन्वयमा समेत समस्या आएको क्याम्पस प्रमुख बैदारले जानकारी दिए । क्याम्पस र नगरपालिका बीचको द्वन्द्वका कारण नगरपालिकाले अनुमति नदिएको बुझिन्छ ।
कागज नपुगेका कारण अनुमति दिइएन
यता बनेपा नगरपालिकाका शिक्षाशाखा प्रमुख श्यामसिं धामीले भने क्याम्पसको कागज पत्र नै नपुगेको कारण अनुमति दिन नसकेको बताए । ‘कागजात पुगेको छैन ।’ शाखा प्रमुख धामीले भने, ‘वडा कार्यालयको सिफारिस छैन ।’
वडा कार्यालयको निर्णय यस्तो रहेछः

क्याम्पस प्रमुख बैदारले वडा कार्यालयमा सिफारिस मागेको तर नदिएको बताए । ‘वडा कार्यालयमा सिफारिस मागेको दिएन । मेरो अधिकार क्षेत्रभित्र पर्दैन, भनेर वडाध्यक्षले नगरपालिकालाई चिठी काट्यो ।’ बैदारले भने, ‘त्यसपछि नगरपालिकाले केही प्रतिउत्तर दिएन ।’ यो शैक्षिक सत्रमा अनुमति दिएन भने आगामी शैक्षिक सत्रदेखि प्लस टु खोरेज हुँदै छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















