सिन्धुलीमाढी/ नेपाल आदिवासी जनजाति महासंघ, नेवाः ताम्सालिङ (३ नं.) प्रदेशको प्रथम अधिवेशन सिन्धुलीमाढीमा हुने भएको छ । आगामी असोज ४ र ५ गते सिन्धुलीको सिन्धुलीमाढीमा अधिवेशन गर्न महासंघले तयारी तिब्र पारेको छ । अधिबेशन तयारीमा जुड्न महासंघले भदौं २ गते (सोमबार) सिन्धुलीमाढीमा सरोकारवालाहरुको बिस्तारित बैठक गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद, सिन्धुलीका उपाध्यक्ष महेन्द्र बहादुर सुनुवारको अध्यक्षता बसेको सरोकारवालाहरुको बैठकमा महासंघका प्रदेश नंं ३ का संयोजक काजीमान थिङले प्रथम अधिबेशन सिन्धुलीमा आयोजना गर्न लागेको सम्बन्धी प्रष्ट्याएका थिए । बैठकमा महासंघ, महासंघ सम्बद्ध विभिन्न जातीय संस्थाका अगुवाहरुको सहभागीता थिए ।
बैठकले जिम्मेवारी बाँडफाँट सहित विभिन्न उप–समितिहरु गठन गरेको छ । जस्मा जिल्ला समन्वय परिषदका अध्यक्ष उक्तबहादुर थापा मगर र उपाध्यक्ष महेन्द्रबहादुर सुनुवारको संयोजकत्वमा व्यवस्थापन उपसमिति, फोनिज सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको संयोजकत्वमा विभिन्न संचार संस्था र संचारकर्मी सदस्य रहेको प्रचार–प्रसार उपसमिति गठन गरेको छ । त्यसैगरी नेपाल मगर युवा संघ प्रदेश नं. ३ का अध्यक्ष सरोज पुलामीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, जिल्ला समन्वय परिषदका कोषाध्यक्ष तुल गुरूङको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति र कमलामाई नगर समन्वय परिषदका अध्यक्ष राजकुमार श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक तथा झाँकी व्यवस्थापन उपसमिति गठन गरेको छ ।
अधिवेशनको बारेमा जानकारी गराउँनु हुँदै प्रदेश संयोजबक काजीमान थिङले अधिवेशनमा ३ नंं प्रदेशका १३ जिल्ला समन्वय परिषद, स्थानीय तह समन्वय परिषद र ४५ भन्दा बढी जातीय संस्थाको करिव दुई सय पचास जना प्रतिनिधि सहभागी हुने बताए । ‘अहिले १३ जिल्ला र जिल्लाका विभिन्न स्थानीय तहहरुमा समन्वय परिषदको अधिवेशन, भेला र प्रशिक्षण भइरहेको छ’ थिङले बताए ।
त्यसैगरी सिन्धुली जिल्लाका ९ वटा स्थानीय तहमा आदिवासी जनजाति महासंघको समन्वय परिषदहरुको अधिवेशन, बैठक र प्रशिक्षण भदौं २५ गते भित्र गरीसक्ने निर्णय गरेको महासंघ सिन्धुलीका उपाध्यक्ष महेन्द्र सुनुवारले बताए ।
जसअनुसार घ्याङलेक गाउँपालिका भदौं १६, मरिण गाउँपालिका भदौं १७, हरिहरपुरगढी गाउँपालिका भदौं १८ गते अधिवेशन सम्पन्न गर्ने तय गरिएको छ । त्यसगरी भदौं १९ गते दुधौली नगरपालिका, २० गते तिनपाटन गाउँपालिका, २२ गते गोलञ्जोर गाउँपालिका र २३ गते फिक्कल गाउँपालिका अधिवेशन हुनेछ । त्यस्तै भदौं २४ गते सुनकोशी गाउँपालिका र २७ गते कमलामाई नगर समन्वय परिषदको बैठक तथा प्रशिक्षण हुने उपाध्यक्ष सुनुवार जनाए ।
नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव सुरेश आले मगरले उद्घाटन गरिने अधिवेशनमा विभिन्न जातीय संस्थाका प्रमुख, सरकारका मन्त्री, सांसद र स्थानीय सरकारका प्रमुखहरुले सम्बोधन गर्ने महासंघ जनाए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।