नेकपा अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि बिहीबार बिहान ८ बजे बोलाइएको सचिवालय बैठक करिब ९ बजेबाट मात्र सुरु भएको थियो । बैठक सुरु हुनासाथ अध्यक्ष ओलीले आफू सिंगापुरमा भए पनि सम्पर्कमै रहने भन्दै अर्का अध्यक्ष प्रचण्डलाई एकीकरण र कार्यविभाजनको बाँकी काम टुंग्याउन बैठक डाकेर निर्णय गर्न आग्रह गरेका थिए । तर, त्यस्तो निर्णय सर्वसम्मतिमा गर्न ओलीको आग्रह थियो । र, सर्वसम्मतिमा निर्णय गर्ने भन्ने विषयले तत्कालै विमति सिर्जना र्गयो । यही विषयमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच गर्मागर्मी विवाद भयो ।
यस्तोछ सम्वादः
ओलीः पार्टीले निर्णय लिनुपर्ने विषयमा पर्याप्त छलफल भएकै छ । हाम्रा अर्का अध्यक्ष (प्रचण्ड)ले बैठक बोलाएर निर्णय गराउन सक्नुहुन्छ । म पनि आवश्यकताअनुसार सम्पर्कमै हुनेछु, निर्णयहरू सबैको सहमतिका आधारमा गर्नुहोला भन्ने मेरो आग्रह छ ।
नेपालः सहमति नभए पनि निर्णय भइहाल्छ नि, मेरो सहमतिविनै अस्ति निर्णय गराउनुभएको होइन ? सहमति हुन नसके विधि र प्रक्रियाबाट भइहाल्छ । त्यसमा अनौठो केही छैन ।
ओलीः अध्यक्ष तपाईं कि म ? म अध्यक्ष भएकोले मसँग सहमति लिने भनेको हो त । मैले तपाईंसँग पनि सहमति लिने भनेको छु र ?
नेपालः यहाँ अध्यक्ष र सचिवालय सदस्यको हैसियत बराबर हो । विधि र प्रक्रियाबाट निर्णय गर्दा सबैको एक भोट हो, सबैको मत बराबर हुन्छ ।
प्रचण्डः यसमा विवाद नगरौँ । स्वास्थ्यलाभ र शुभयात्राको कामना गरौँ ।
नेपालः शुभकामना त मेरो छँदै छ नि, उहाँ स्वास्थ्यलाभ गरेर छिटै फर्किनोस्, म पनि यही कामना गर्दछु ।
ओलीः तपाईंको कामना चाहिँदैन, तपाईं त मलाई मरोस् भन्ने ठान्नुहुन्छ । मेरो स्वास्थ्यबारे अफवाह फैलाउँदै हिँडिरहनुभा’छ, म तपाईंको शुभकामना लिन्नँ । तपाईंको शुभकामना मलार्ई लाग्दा पनि लाग्दैन ।
नेपाल (आक्रोशित हुँदै): मैले कहाँ भनेँ त्यस्तो ? शतप्रतिशत गलत हो । तपाईंजस्तो निकृष्ट र आपराधिक सोच राख्ने मान्छे म होइन । यही बैठकबाट तुरुन्त छानबिन कमिटी बनाऊँ, कहीँ कतै त्यसरी बोलेको एउटा मात्रै प्रमाण देखाउन सक्नुभयो भने म जस्तोसुकै सजाय भोग्न तयार छु । बरु (केन्द्रीय सदस्य) राजेन्द्र गौतमले मेराविरुद्ध सार्वजनिक रूपमै लेख्दै हिँड्नुभएको छ, बैठकले कारबाही गरोस् ।
ओलीः मेराविरुद्ध पनि तपाईंले बुधबार साप्ताहिकमा के–के लेखाउँदै हिँड्नुभएको छ, त्यो पनि कारबाहीको विषय हो । तर, कसलाई गर्ने ?
नेपालः मैले कहाँ, के लेखाउँदै हिँडेँ ? स्वास्थ्यविरुद्ध के–के बोलेँ दुवै नोट गरियोस्, तत्काल छानबिन गरियोस् ।
प्रचण्ड, वामदेव, नारायणकाजीः प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्ने बैठक हो, भनाभन गर्नुहुन्न । माधव कमरेडले स्वास्थ्यलाभको कामना गर्नुपर्छ, अध्यक्षले पनि स्विकार्नुपर्छ । अब यो विषय यहीँ रोकौँ । नयाँपत्रिका दैनिकबाट साभार ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।