मण्डनदेउपुर । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको मुख्य बजार कुन्ताबेसी बजारमा अनुगमन गरिएको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीको नेतृत्वमा बजार अनुगमन गरिएको हो ।
शुद्धता कायम गराउन र दर्ता गरेर मात्रै व्यवसाय संचालन गराउने हिसाबले यो अनुगमन गएिको सहायक प्रमुख जिल्ला अधिकारी पुरीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय, काभ्रे, घरेलु तथा साना उद्योग डिभिजन कार्यालय, गुण तथा खाद्य कार्यालय धुलिखे, जिल्ला प्रहरी कार्यालय, काभ्रे, उद्योग वाणिज्य संघको संयुक्त अनगुमनटोलीले कुन्ताबेसी बजारमा पहिलो पटक अनुगमन गरिएको हो ।
अखाद्य तथा गुणस्तर हिन बस्तुको विक्रिवितरणमा तिब्रता आएको सूचना आएपछि अनुगमन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी पुरीले बताए ।
पहिलो चरणमा सन्देश दिने हिसावले बजार अनुगमन गरेको खाद्य तथा गुण नियन्त्रण विभाग धुलिखेल कार्यालयका प्रमुख शिव भण्डारीले बताए । ‘पसल दर्ता गरेर संचालन भएको छ की छैन, मूल्य सूचीको टाँस गर्ने उदेश्यले बजार अनुगमन गरेको भण्डारीले जानकारी दिए ।
घरेलु उद्योग काभ्रेका प्रमुख केशव पुडासैनीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता ठगिने क्रम रोकियोस् भनेर बजार अनुगमन गरिएको बताउँदै काभ्रेका सानादेखि ठूलासम्म बजारहरुमा अनुगमन गरिने समेत बताए ।
बजार अनुगमनमा म्याद गुज्रिएको सामानहरु फेला परेका, मूल्य सूची नभएको, होटलहरुमा अखाद्य रंङ्गहरु फेला परेको थियो । ‘पहिलो पटक सचेत पारेर छाँडिएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी पुरीले भने । बजार अनुगमनमा स्थानीय व्यापारी र जनप्रतिनिधीहरुले समेत सहयोग गरेका थिए । केही समयअघि काभ्रेको भुम्लु गाँउपालिकाको दोलालघाट बजारमा समेत बजार अनुगमन गरिएको थियो । ‘बजार अनुगमनलाई जिल्लाव्यापी रुपमा अघि बढाईने छ’ अनुगमनमा सहभागी घरेलु उद्योग काभ्रेका प्रमुख केशव पुडासैनीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।