काठमाडौं । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) भएको मन्त्रिपरिषदको बैठकमा भिडयो कन्फ्रेन्समार्फत सहभागी भएका छन् ।
बैठकमा मन्त्रीहरुले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्री ओलीले पनि धन्यवाद दिदै स्वास्थ्य उपचार सफलता पुर्वक र राम्रो ढंगले अघि बढेको जानकारी गराए । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सको पहिलो प्रयास सफल भएको जानकारी दिए । बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयगत समस्या राखेको र ती समस्यामा प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको बाँस्कोटाले बताए ।

भिडियो कन्फ्रेन्स मार्फत गरिएको मन्त्रीपरिषद् बैठकको भिडियो खिच्न दिइएको थिएन । मन्त्रिपरिषद् बैठकले नै प्रधानमन्त्री ओली सिंगापुर जानु अघि कार्यविधि संसोधन गरि भिडियो कन्फ्रेन्स मार्फत पनि मन्त्रिपरिषद् बैठक बस्ने सक्ने व्यवस्था गरिएको थियो ।

ट्वीट मार्फत प्रधानमन्त्रीले दिए धन्यवाद
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले ट्वीट समेत गरेका छन् ।
‘प्रविधि र प्राबिधिकलाई धन्यवाद दिन चाहन्छु। आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषदको बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरूलाई धन्यवाद ! प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरूलाई धन्यवाद ।’ ट्वीटमा प्रधानमन्त्री ओलीले भनेका छन् । नेपालको इतिहासमा यसरी बैठक बसेको पहिलो पटक हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















