नेकपालाई पोलिटब्यूरो सदस्य छान्ने चटारो, को–को बन्दै छन् ? (नामावली सहित)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । पहिलो पटक नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
केन्द्रिय सस्यमा थप
नेकपाको सचिवालय बैठकले नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका नेताहरुलाई पार्टीको केन्द्रिय सदस्यमा मनोनयन गरेको छ । मनोनयन हुनेहरुमा देवेन्द्र्र पराजुली, कल्पना धमला, पद्मा राई र किरण राई रहेका छन् ।
पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशत सम्म केन्द्रीय समितिमा समावेश गर्न सकिने प्रावधान अनुसार सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
विभाग तथा भूगोलको जिम्मेवारीमा भएको निर्णयहरु
बैठकले कानुनमन्त्री भाुनभक्त ढकाललाई सुरक्षा विभाग प्रमुख र प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई प्रादेशिक मामिला उपप्रमुखमा नियुक्त गरेको छ ।
त्यस्तै राष्ट्रिय सुरक्षा विभागको उपप्रमुखमा खोटाङको सह–इन्चार्जको जिम्मेवारी दिइएको रामकुमार राईलाई नियुक्त गरेको छ । राइलाई सहइन्चार्जको जिम्मेवारीबाट हटाएर अर्काे जिम्मेवारी दिइएको हो । त्यसैगरी प्रादेशीक मामिला विभागको उपप्रमुखमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेललाई नियुक्त गरेको छ ।
त्यस्तै पत्रकार तथा लेखक विष्णु रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिइएको छ । सचिवालय बैठकले विभिन्न जिल्ला, जनवर्गीय संगठन र विभागका उपप्रमुख र सहइन्चार्जहरुको नियुक्त र जिम्मेवारी हेरफेर पनि गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाईलाई नियुक्त गरेको छ । यसअघि उपप्रमुखको जिम्मेवारी धर्मदत्त देवकोटालाई दिइएको थियो । बैठकले झलनाथ खनाल नेतृत्वको नीति अध्ययन प्रतिष्ठानको सहसंयोजकमा पूर्व राजदुत प्रमेश हमाललाई नियुक्त गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानको सह–संयोजकको जिम्मेवारी रमेश धमाललाई दिइएको छ । धमाललाई ललितपुरको सह इन्चार्जबाट हटाइएको छ ।
त्यसैगरी, कर्णाली प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा सत्या पहाडी, सुदुर पश्चिम प्रदेश सम्पर्क कमिटीको इन्चार्जमा विरमान चौधरी लाई नियुक्त गरिएको छ । चौधरीलाई यसअघि कैलालीको सहइन्चार्जको जिम्मेवारी दिइएको थियो । बैठकले जनवर्गीय संगठनको सह इन्चार्जहरुमा पनि नयाँ व्यवस्था गरेको छ ।
अखिल नेपाल महिला संघको सह इन्चार्जमा अमृता थापा र सिता पौडेललाई थप गरिएको छ । आदीवासी जनजाती महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा सुरेश आलेमगर र शेर बहादुर तामाङलाई थप गरिएको छ । नेपाल दलित मुक्ति संगठन र सम्बद्ध संगठनहरुको सह इन्चार्जमा तिलक परियार र बोम बहादुर विश्वकर्मालाई, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसांस्कृतिक महासंघ नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने, सहइन्चार्जमा खगेन्द्र राई, खेलकुद महासंघ र सम्बद्ध मोर्चाको इन्चार्जमा जीवन घिमिरे र अजम्बर काङवाङलाई, इन्जिनियरिङ संगठनको सहइन्चार्जमा रामकुमारी झाँक्री र शिक्षक सम्बद्ध संगठनको सहइन्चार्जमा हिक्मत कार्कीलाई नियुक्त गरिएको छ ।
त्यसैगरी ताप्लेजुङ जिल्ला सहइन्चार्जमा तिलकुमार मेन्याङबो, सुनसरी जिल्ला सहइन्चार्जमा भगवती चौधरी, सिरहा जिल्ला सहइन्चार्जमा प्रमोद नारायण यादव र हरिनारायण चौधरी र चुँडामणी जंगलीलाई कास्की र दीपक देवकोटालाई कैलाली जिल्ला सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
सार्वजनिक टिप्पणी नगर्न निर्देशन
सचिवालय बैठकले पार्टी भित्रका नेता कार्यकर्ताका बारेमा सार्वजनिक टिका टिप्पणी नगर्न कडा निर्देशन दिएको छ ।
नेता कार्यकर्ताका बारेमा केही भन्नु परेमा तथ्यसंगत ढंगले पार्टीको आन्तरिक बैठकहरुमा राख्ने तर सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने निर्णय बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताए । सार्वजनिक रुपमा नेताहरुको बारेमा टिका टिप्पणी गरेको पाइएमा स्पष्टीकरण लिदै आवश्यक काराबाही गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए ।
बैठकले सिंगापुरमा उपचाररत अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको पनि कामना गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।