काभ्रे । जिल्लाको बनेपा नगरपालिका–९ नयाँवस्तीमा इनार खन्ने क्रममा माटोको डिस्कोले पुरिंदा एकको मृत्यु भएको छ । राजविराजका प्रदिप यादवको घर निर्माण गर्न इनार खन्ने क्रममा सुनसरीको बदी गाउँपालिका–२ घर भई हाल बनेपा–९ नयाँवस्ती बस्ने सञ्जय यादव माटोको ढिस्को खसेर पुरिएको हो ।
इनार खन्दै गर्दा माटोको ढिस्कोले पुरिएका यादवलाई निकाल्न नेपाली सेनाको विष्णु दल गण र नेपाल प्रहरीको टोली रातभर इनारभित्र पसेका थिए । विष्णु दल गणको टोलीले इनारमा खसेका युवालाई ५ घण्टाको लगातारको प्रयासपछि राति २.४५ बजे शव निकालेको थियो ।
शनिबार साँझ ६.४५ बजे माटोको इनारमा रिङ राख्दाराख्दै माटोको ढिस्को खसेको थियो । यादवको घरका लागि ४० फिट गहिरो इनार खनिएको थियो । इनार खनेर माटो साइडमा राखिएकाले ढिस्को खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निराजन भट्टराईका अनुसार सुरक्षा नअपनाउँदा यादव माटोको ढिस्को खसेर पुरिएको जानकारी दिए । माटोको ढिस्को खसेलगत्तै शुरुमा रिङ राख्ने उनकै साथीहरूले उनलाई निकाल्ने प्रयास गरे । नसकेपछि प्रहरीलाई खबर गरे।
प्रहरी र स्थानीय कसैले पनि इनारभित्रको माटो पन्छाएर यादवलाई निकाल्न नसकेपछि राति ८.४५ बजे देखि नेपाली सेनाको विष्णु दल गणको टोलीले उद्धारको कार्य शुरु गरेको विष्णु दल गणका गणपति प्रमुख सेनानी सुवास खड्काले जानकारी दिए ।
विष्णु दल गणका सहसेनानी सरोज पुडासैनीको कमान्डमा उद्धारका लागि उद्धारका सामाग्रीसहित उक्त स्थानमा खटिएको थियो । टोलीले इनारमा भरिएको माटो पन्छाई पुरिएको शव झिकी प्रहरीलाई बुझाएको गणपति सुवास खड्काले जानकारी दिए ।
प्रहरी र सेनाको टोलीले घटनाबाट शव निकालेपछि पोस्टमार्टमका लागि शिर मेमोरियल अस्पताल पठाएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।