काठमाडौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने जिल्ला अदालत चितवनमा ५ लाख धरौटीमा रिहा हुने भएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले रविसँग ५ लाख र युवराज कँडेलसँग ३ लाख धरौटी मागेको हो ।
यो प्रकरणमा रवि कार्यरत न्युज २४ टेलिभिजनले जबरजस्ती दोषी प्रमाणित गर्न खोजिएको अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी छन् । अर्थात् अस्मिता यो प्रकरणमा निर्दोष सावित भएकी छन् । अदालतको आदेश अनुसार यो प्रकरणमा रवि मुख्य दोषी देखिएका छन् । उनीसँग अदालतले ५ लाख र युवराजसँग ३ लाख धरौटी मागेकाले यसको पुष्टि हुन्छ ।
अब रविले प्रहरी हिरासबाट निस्किए पनि यो मुद्दाको अन्तिम किनारा नलागेसम्म् आफुखुसी विदेश जान पाउने छैनन् । विदेश जानुअघि उनले अदालतको लिखित अनुमति लिनुपर्नेछ । त्यस्तै शालिकरामको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दा किनारा नलागेसम्म हरेक महिना अदालतमा तारेख धाउनु पर्नेछ । रविले हिरासतमा रहँदा यदि बाहिर निस्कन पाएमा शालिकरामका दोषी तीन मिनेटमा पत्ता लगाउने बताएका थिए । तर अदालतको आदेशले अब उनले यो प्रकरणबारे कार्यक्रममा बोल्ने या सार्वजनिक टिप्प्पणी गर्न पाउने छैनन् ।
अदालतमा विचाराधीन मुद्दा र उनी त्यसका अभियुक्त भएकाले यसबारे उनले आफ्नो च्यानलबाट केही बोल्न नपाउने भएका हुन् । तर उनले चलाइरहेको कार्यक्रम चलाउन भने उनीमाथि रोक लागेको छैन। यो मुद्दामा सोमबार सरकारबाट तीनजना सरकारी वकिलले सोमबार बहस गरेका थिए । यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापाले यसमा बहस गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















