रोशी । काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ को पूरै बस्ती र ११ को केही बस्तीहरुमा विद्युत प्रसारण लाईन विस्तार गर्ने काम सम्पन्न भएको छ । कार्य सम्पन्न भई आज (¬बुधबार) देखि विद्युत प्रसारण परिक्षण समेत गरेको छ ।
रोशी गाउँपालिकाको वडा नं. १२ र ११ का समुदायको विद्युतमा पहुँच विस्तार भएसँगै यी दुई वडा उज्यालो बनेको छ ।
नयाँ किरण विद्युत सहकारी संस्थामार्फत विद्युत सेवा विस्तार गरिएको उक्त क्षेत्रमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्र बनेपाले आज प्रसारण परीक्षण गरिएको हो । नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभाग अन्तर्गत सेवा विस्तार गरिएको काभ्रे जिल्ला साविक भिमखोरी गाउँ विकास समितिको पहिलो चरणमा सम्पन्न भएको क्षेत्रमा विद्युत सेवा वितरण गरिएको छ । त्यसका लागि तेमाल सामुदायिक ग्रामीण विद्युतीकरण सहकारी संस्था लि.को सेवा क्षेत्रभित्र पर्ने टेकानपुरमा ट्यापिङ भएको हो ।

बिजुली बत्ति बल्ने वित्तिकै सबैभन्दा खुशी आफूलाई भएको वडा अध्यक्ष राम मोक्तानले तेमाल अनलाईनलाई बताए । विद्युत प्रसारण हुन नसकी समस्या ब्यहोरिरहेका जनतालाई आफूले विद्युतिकरण गर्ने प्रतिबद्धता गरेको सम्झदै वडा अध्यक्ष मोक्तानले अब जनतामा जाहेर गरेको प्रतिबद्धताहरु एक एक गरि पूरा गर्ने बताए ।
‘यो योजना सम्पन्न गर्न निक्कै समस्याहरु आयो, यहाँको जनताले साथ दिए, आज मेरो वडा झिलिमिली भएको छ । सबैभन्दा बढी खुशी म भएको छु ।’ मोक्तानले भने, ‘जनतासँग गरेको प्रतिबद्धताहरु मध्य यो सबेभन्दा महत्वपूर्ण प्रतिबद्धता थियो । हामी सबैको प्रयत्नले आज यो काम सम्पन्न भएको छ ।’
शुक्रबार उक्त संस्थाको तेमाल गाउँपालिका वडा नं. १ मा रहेको आधाबाटमा टिओडी मिटर जडान कार्य सम्पन्न भएपछि र टेकानपुरमा ट्यापिङ भाएपछि परिक्षण प्रसारण भएको नयाँ किरण विद्युत सहकारी संस्थाका अध्यक्ष चन्द्रमाया तामाङले बताएकी छिन् । उनकाअनुसार संस्थाको सेवा क्षेत्रको बाँकी रहेको भू–भागको विद्युतीकरणका लागि लगत्तै काम शुरु हुनेछ ।
भिडियो हेर्नुहोस्ः
खुशी छायो विजुली बलेपछि
विजुली बलेपछि स्थानीय शम्भु रायमाझी निक्कै नै खुशी भएका छन् । वर्षौंदेखि टुकीबत्तिको सहारामा बस्न बाध्य भएको बेला विजुली बत्ति बाल्न पाएपछि उनी खुशी भएका हुन् । ‘यो जुनीमा विजुली बत्ति बाल्न पाउँदैन कि जस्तो लागेको थियो ।’ रायमाझीले भने, ‘अब उत्पादनको काममा समेत केही गर्न पाउने भयो ।’
पञ्चकुमार बललाई आज पनि विजुली बल्छ भन्ने पत्यार लागेको थिएन । विद्युत प्रसारणलाई अबरोध पार्न विभिन्न षड्यन्त्र भइरहेकोले उनले पत्याएकै थिएन । ‘आजै बल्छ भन्नेमा म पत्यार लागेको थिएन ।’ उनले भने, ‘गाउँमा केही मान्छेहरु विद्युतिकरणको विरुद्ध लागेको थियो । त्यसैले मैले पत्याउन सकिरहेको थिएन । आज बल्यो, खुशी लाग्यो ।’
१ हजार घुरधुरी लाभन्वित
विजुली बलेपछि त्यस भेगका १ हजार घरधुरी लाभन्बित भएको छ । त्यस क्षेत्रको माम्ती, हाइटार, रातमाटा, हर्कपुर, बर्खेखोला, धानपाखा, च्याँख्ले, आँपडाँडा, चिप्लेटी, मगरसालु, शिखरपुर, बसेरी, कोले, ग्याङडाँडा, भोटेसालु, जुवाडाँडा, केराबारी, रामरीङ, तल्लो केराबारी, झगडे, कम्मरदेउ, ठाडे, जुकेपानी, कातरचे, म्हेनडुपा छाप, सोरेसिम, नेर्पा र बर्तौला बजार, चिलाउने, गुँरासे लगायतका बस्तीमा बिजुली बल्ने भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















