काभ्रे । जिल्लाको पाँचखाल नगरपालिकाका १० वटा वडाको लागि अब खानेपानीको व्यवस्था हुने भएको छ । आज (विहिबार) सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा र प्रदेश सांसद लक्ष्मण लम्साललाई साक्षी राखेर संझौता भएपछि खानेपानीको योजना अगाडि बढ्ने भएको छ ।

शहरी खानेपानी आयोजना, काठमाडौं, नगर बिकास कोष, काठमाडौ, पाँचखाल नगरपालिका र सुनकासी पाँचखाल खानेपानी उपभोक्ता समितिबीच परियोजनाको संझौता भएको थियो ।
शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक विद्यानाथ भट्टराई, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त र सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता सरसफाई संस्थाका तर्फबाट अध्यक्ष कुमार लामिछानेले मन्त्री बास्कोटाको उपस्थितीमा सम्झौता गरी आगामी ५ वर्ष भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको छ ।

पाँचखाल नगरपालिका १० वटा वडाका लागि सुनकोशी खोलाबाट लिफ्टिङ्गको माध्यमबाट ५ वर्ष भित्रमा खानेपानी उपभोग गर्ने गरी २ अर्ब २२ करोड ५६ लाख २५ हजार २ सय ३३ रुपैयाको आयोजना शुभारम्भ गरिएको छ । वडा नम्वर १, ५ र १३ बाहेकका सबै वडामा आयोजना मार्फत खानेपानी उपलब्ध हुनेछ ।
भिडियो हेर्नुहोस्ः
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले चौपक्षिय सहमति सँगै समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिदै स्थानीय स्तरमा हुने समस्या समाधानमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गर्नु भयो ।

आयोजनामा लाग्ने कुल रकम मध्ये ५ प्रतिशत उपभोक्ता समितिबाट उपलब्ध गराईनेछ । पाँचखालबासीले उपलब्ध गराउनु पर्ने ११ करोड मध्ये १० करोड रकम संकलन भईसकेको छ । नगर विकास कोषले २५ वर्षका लागि ५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको छ ।
५ हजार ९ सय ९८ घर धुरीका २९ हजार ६ सय ३ नागरिक रहेका उक्त वडाहरुमा आगामी २० वर्ष पछिसम्म खानेपानी उपलब्ध हुने गरी आयोजना शुरु गरिएको हो ।

सम्झौता कार्यक्रममा मन्त्री बास्कोटा, प्रदेश सभा सदस्य लक्ष्मण लम्साल, पाँचखाल नगरका प्रमुख महेश खरेल, जिल्ला समन्वय समिति उपप्रमुख मञ्जु गौतम, शहरी खानेपानी तथा सरसफाई आयोजनाका निर्देशक विद्यानाथ भट्टराई, नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्त, सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता सरसफाई संस्थाका तर्फबाट अध्यक्ष कुमार लामिछाने, उपाध्यक्ष रविन्द्र सिपखान, सचिव मणि गौतम लगायतले समयमै आयोजना सम्पन्न हुने कुरामा विश्वत हुन सर्वसाधारणलाई अनुरोध गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















