काभ्रे । काभ्रेको धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी संघले उपकुलपति, रजिष्टार र डीनको कार्यालयमा लगाएको ताला २२ दिन बितिसक्दा पनि खुलेको छैन । विश्वविद्यालयका प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालय नीति, नियम र पद्धतिबाट भन्दा पनि व्यक्ति विशेषबाट चलाउन खोजिएको आरोप लगाउँदै ताला लगाएको हो ।
केयु भित्र देखिएका अनियमितता, दक्षता र अनुभविलाई नभई कनिष्टलाई उपकुलपतिको निकटताको आधारमा विश्वविद्यालयको विभिन्न विभागको जिम्मेवारी सुम्पिने र पेशागत हितको लागि प्राध्यापक र कर्मचारीहरुले पाउनुपर्ने सेवा सुविधा लगायतको विषयलाई लिएर २२ दिन अगाडिदेखि ताला लगाएको काठमाडौ विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. वेदमणी दाहालले बताए ।
दुवै संघले आफ्नो मागलाई सम्बोधन गर्न दवाव दिने उदेश्यले विश्वविद्यालयको उपकुलपतिको कार्यालय, रजिष्टारकोे कार्यालय, स्कुल अफ साइन्सको डिनको कार्यालय र स्कुल अफ ईञ्जिनियरिङको डिनको कार्यालयमा ताला लगाएको उनको भनाई छ ।
‘काठमाडौ विश्वविद्यालयले प्राध्यापक र कर्मचारी हितविपरित आफु निकटको प्राध्यापक र कर्मचारीलाई मात्र पोस्ने काम गरेको हुनाले नीति नियम अनुसार काम कारवाही हुनु पर्छ भन्ने हाम्रो माग हो ।’ दाहालले भने, ‘हाम्रो माग पुरा नभएसम्म हामी आन्दोलन जारी राख्छौँ, शान्तिपूर्ण आन्दोलनको सुनुवाई नभएमा हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
के के छन् त मागहरु ?
१. नेपालको संविधानले दिएको पेशागत संघरसंस्था गठन गर्न पाउने अधिकार अनुसार का वि प्राध्यापक संघ र का वि कर्मचारी संघको मान्यता दिनुपर्ने ।
२. वि वि मा भएका आर्थिक तथा नीतिगत भ्रस्टाचारको छानबिन गराई दोषी पाइए कारवाही, यस अघि गठन भएका समितिहरुको प्रतिबेदन सार्वजनिक गर्न तथा तिनको कार्यनवयन, राज्यद्वारा गठित छानबिन समितिका प्रतिबेदनले दोषी ठहरीसकेका व्यक्तिहरुलाई वि वि का कुनै पनि पदमा नियुक्ति नगर्ने र यदि गरेको भए खारेजी गर्नुपर्ने ।
३. वि वि ऐनमा व्यवस्था भएको शिक्षक प्रतिनिधिको हकमा सम्पूर्ण शिक्षकहरुको प्रतिनिधित्व गर्ने का वि प्राध्यापक संघले छानेको शिक्षक नै हुनु पर्ने र छनौट विधि र प्रक्रिया संघले नै निर्धारण गर्ने साथै सभा र कार्यकारिणीमा कर्मचारीको पनि प्रतिनिधित्व हुनु पर्ने ।
४. शिक्षक कर्मचारीको सहज, पारदर्शी, न्यायपूर्ण र आवधिक वृतिविकासका विषयमा सम्झौता हुनुपर्ने ।
केयु कर्मचारी संघले राखेका मुख्य माग
१. का. वि. कार्यव्यवस्था नियममा भएको “कर्मचारी कल्याण परिषद् लाई संशोधन गरी ‘का वि। कर्मचारी संघ’ लेखिनु पर्ने ।
२। का. वि. कार्यकारी परिषद् र सभामा कर्मचारीहरुको प्रतिनिधित्व हुनु पर्ने ।
३. विना नियुक्ति कार्यमा लगाईएका सम्पुर्ण कर्मचारीहरुलाई नियुक्ति पत्र दिनु पर्ने ।
४. १ वर्ष भन्दा बढी करार तथा अस्थायीको रुपमा कार्यरत कर्मचारीहरुलाई स्थायी गर्नु पर्ने ।
५. एटेण्डेन्ट पद ९ब्याण्ड० मा नियुक्तिपत्र दिई सहायक पदमा कार्य लगाईएका कर्मचारीहरुलाई सहायक पदमै स्थायी नियुक्ति गर्नुपर्ने (नीजहरुको हकमा सेवा प्रवेशकै योग्यतालाई आधार मान्न सकिने)
६. ८ वर्ष भन्दा बढी एउटै पदमा कार्यरत स्थायी कर्मचारीहरुलाई एक पदमाथि बढुवा गर्नु पर्ने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















