काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनको एकता प्रक्रिया सम्पन्न भएको छ । पूर्व एमाले निकट अनेरास्ववियु र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबीच एकता भइ बनेको अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय नयाँ कार्यसमिति हुने भएको छ ।
पूर्व अनेरास्ववियुबाट नयाँ केन्द्रीय समितिमा १८० र पूर्व क्रान्तिकारीबाट १५५ जना रहने भएका छन् । केन्द्रीय समितिको बैठक आगामी ३१ भाद्र र १ असोजमा काठमाडौंमा बस्ने अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए ।
संगठनको नाम अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन रहने भएको छ । २५१ जनाको एक तिहाई अर्थात ३३ प्रतिशत संख्या कायम गर्ने नेकपाको विधानमा व्यवस्था छ ।
नेकपाका नेता तथा विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा अनेरास्ववियू केन्द्रीय कार्यालय बागबजारमा बैठक बसेको हो ।
राजनीतिक र सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना पेश गर्न उपसमिति समेत बनेको छ । सो समितिको संयोजकमा ऐन महर, सदस्यमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह छन् । भने विधान मस्यौदा उपसमितिको संयोजकमा रञ्जित तामाङ र सदस्यमा सुनिता वराल र समिक वडाल छन् ।
त्यस्तै आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमितिको संयोजकमा उत्तम अधिकारी र सदस्यमा सदस्य आरसि लामिछाने, झपिन्द्र खत्री र केशव रावल छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















