म दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू घुमेँ। ती गाउँ केही वर्षयता भारतविरोधी विद्रोहको केन्द्रका रूपमा चिनिन्छन् । मैले ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेँ –रातिराति गरिने फौजका कारबाही, कुटपिट र यातना।
चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। तर गाउँलेहरूले भने सुरक्षा फौजका कारण भएको भन्दै उनीहरूका शरीरका चोटपटक मलाई देखाए।

एउटा गाउँमा मलाई त्यहाँका गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो।
दुई दाजुभाइले आफूहरूलाई सेनाले निन्द्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्ना पहिचान खुलाउन चाहेनन्।
“उनीहरूले हामीलाई पिटे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईँ अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पिटिरहे ।“ –एक जनाले भने।
“उनीहरूले मेरो शरीरको सबै भागमा पिटे। लात्ता हाने, लट्ठीले हाने, बिजुलीको झट्का लगाए र तारले पिटे। खुट्टाको पछाडिको भागमा प्रहार गरे। अचेत भएपछि बिजुलीको झट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रो मुखमा माटो कोचे।“
“हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त ’पिट्नुको साटो बरु मारिदेऊ’ भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ।“
अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई ’ढुङ्गा हान्नेहरूको नाम बताउन’ भनेको बताए। गत दशकमा कश्मीर उपत्यकामा भएका विरोध प्रदर्शनका क्रममा युवा तथा किशोरहरूले सुरक्षा फौजविरुद्ध ढुङ्गा हान्ने क्रम बढेको छ।

उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो।
“मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्रहार गरे। अचेत हुनासाथ बिजुलीको झट्का लगाएर ब्युँझाए।“
“अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ ।“ उनले भने।
ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए।
बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए । –, बीबीसी नेपाली सेवाबाट साभार ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















