नेकपालाई पोलिटब्यूरो सदस्य छान्ने चटारो, को–को बन्दै छन् ? (नामावली सहित)
काठमाडौं । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीले ‘अन्तरपार्टी निर्देशन–२’ जारी गरेको छ । यस विषयमा देशैभरि चर्चा परिचर्चा भइरहेको छ ।
पार्टी एकता भएको करिब डेढ महिना भन्दा बढी समय वित्दा समेत पार्टी कमिटीले गति लिन नसकेपछि चौतर्फी आलोचना र गुनासोहरु आईरहेको थियो । सरकार एकातिर पार्टी अर्कोतिर फर्केको भान भइरहेको थियो । यतिखेर आफ्नो पार्टीको नेतृत्वमा रहेको सरकारलाई सहयोग पुग्ने हिसाबले पार्टी अन्तर निर्देशिका जारी गरेपछि पार्टीले गतिलिएको महासुस गरिरहेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशनमा पार्टीका नीति र नेतृत्वका बारेमा सार्वजनिक रूपमा आलोचना र विरोध नगर्ने निर्देशन समेत दिएको छ । उक्त निर्देशनमा भनिएको छ, ‘पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा असहमति, आलोचना वा विरोध भएमा पार्टी विधानको व्यवस्था बमोजिम प्रस्तुत हुन, अन्तरपार्टी जनवादको भरपुर उपभोग गर्न र पार्टीको नीति एवं नेतृत्वका सम्बन्धमा सार्वजनिक रूपमा विरोध वा आलोचना नगर्न निर्दे्शित गरेको छ ।’
जेठ २ गतेदेखि भदौ ५ गतेसम्म अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा जारी गरिएको भनिएको अन्तरपार्टी निर्देशन–२ अगाडि भनिएको छ, ‘पार्टीको नीति एवं नेतृत्वका विरुद्धमा लेख्ने, बोल्ने वा गतिविधि गर्नेहरूप्रति पार्टी विधानबमोजिम स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।‘
भदौ ९ गते बसेको सचिवालय बैठकले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिने नेता र कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको थियो । पार्टीको नीति र नेतृत्वविरुद्ध बोल्ने नेताहरूलाई कारबाही गर्नुपर्ने दबाब नेतारकार्यकर्ताबाट नेकपाको शीर्ष नेतृत्वमा परेपछि यस्तो निर्णय भएको हो । नेकपाको उक्त निर्देशनमा पार्टी संगठन एकीकरण हुन बाँकी रहेका जिल्लाहरूको काम सक्न पनि भनिएको छ। ‘जिल्ला कमिटीहरूको एकता–एकीकरणका सम्बन्धमा निर्धारण गरिएको मापदण्ड एवं कार्य्विधि विशेष परिपत्र–४ मार्फत प्रेसित गरिसकिएको छ । तदनुरूप अधिकांश जिल्लाहरूमा एकता–एकीकरणको काम सम्पन्न पनि भइसकेका छन् । एकीकरण सम्पन्न हुन बाँकी जिल्लाहरूको एकता–एकीकरणको कार्य पनि सोही मापदण्ड एवं कार्य्विधि अनुरूप अविलम्ब सम्पन्न गर्न निर्दे्शित गरिन्छ।’
सोही निर्देशनमा पार्टीको वरियताक्रमबारे पनि मातहतका संगठनहरूलाई जानकारी दिइएको छ। जसमा झलनाथ खनाललाई चौथो वरीयताबाट तेस्रोमा र माधवकुमार नेपाललाई तेस्रोबाट चौथोमा कायम गरिएको भनिएको छ । नेकपाले तत्कालीन एमाले र माओवादीबीच एकता भएर बनेको पार्टीको संगठनात्मक एकता टुंगो लगाउन ढिलाइ भएको पनि मातहतका तह र संगठनहरूलाई जानकारी गराएको छ । एकतामा अहिलेसम्म १५ महिना बितिसकेको भन्दै यस्तो हुनुको कारणबारे लेखिएको छ, ‘हामीले एकता–एकीकरणका बाँकी कामहरू तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेका थियौँ। राष्ट्रिय राजनीतिले सिर्जना गरेका नयाँ–नयाँ जिम्मेवारी र मूलतः सहमतिका साथ एकता–एकीकरणका बाँकी काम सम्पन्न गर्ने हाम्रो उत्कट चाहना समेतका कारणले गर्दा पूर्वघोषित तीन महिनाभित्र एकता–एकीकरणको काम सम्पन्न गर्न सम्भव भएन। अपेक्षा गरेभन्दा बढी नै समय लिएर तर मूलतः सहमति र समझदारीका साथ एकता–एकीकरणको काम अघि बढेको छ र अन्तिम चरणमा आइपुगेको छ।’
पार्टी एकीकरणका बाँकी काम छिटो सम्पन्न गरेर स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने पनि आन्तरिक सर्कुलरमा भनिएको छ । त्यस्तै, पार्टीले विशेष अभियान संचालन गर्नेबारे भनिएको छ, ‘अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।‘

Comments

comments