ललितपुर । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाइरहेको प्रतिक्रिया दिएका छन् ।
समाजवादी पार्टीको ३ नं. प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा आयोजित पार्टी समायोजन कार्यक्रममा भट्टराईले उक्त प्रतिक्रिया दिएका हुन् । ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड !’ उनले भने, ‘सत्तरी वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ । त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए । ‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन.।’ उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’
अध्यक्ष भट्टराई उपस्थित कार्यक्रममा समाजवादी पार्टीले पहिचानमा आधारित पार्टी संचरनाको अभ्यास सुरु गरेको छ । उक्त पार्टीको विधानअनुसार अभ्यास गरिएको पहिचानमा आधारित राष्ट्रिय समितिको अवधारणा अनुरुपको संगठनात्मक संरचनाको अभ्यास सुरु गरेको हो ।
कार्यक्रममा ३ नं. प्रदेश समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति, शेर्पालुङ राष्ट्रिय समिति र शिल्पि विशेष प्रदेश समिति घोषणा गरिएको छ । त्यस्तै जातीय संगठनहरु समाजवादी तामाङ संघ र समाजवादी नेवाः संघ घोषणा लगत्तै पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ नेतृत्वलाई शपथ पनि गराएका छन् ।
प्रदेश ३ को नेतृत्व सोनामसिंलाई
कार्यक्रमबाट ३ नं. प्रदेशको नेतृत्वमा सोनामसिङ स्याङ्तान छानिएका छन् । ११ सदस्यीय सचिवालय समेत बनाइएको प्रदेश पार्टीको मुख्यसचिवमा मोहन बराइली चयन भएका छन् ।
नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्यले जिम्मेवारी पाएका छन् । ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङले जिम्मेवारी पाएका छन् ।
त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पाले जिम्मेवारी पाएका छन् । उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता हुन् । तत्कालीन नयाँ शक्तिबाट नेतृत्व छनौट भइनसकेको जनाइएको छ ।
शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव बनेका छन् । समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका छन् ।
समायोजन कार्यक्रममा अतिथिमा वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष नवराज सुवेदी लगायतका नेताहरु उपस्थित रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।