तेमाल । तेमाल गाउँपालिकाको आयोजनामा हिन्दु महिलाहरुको चाड तीजको उपलक्ष्यमा लोकदोहोरी प्रतियोगिता सम्पन्न भएको छ । ‘तेमालको शान, महिलाहरुको पहिचान, कला, सँस्कृतिको जर्गेना हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आज (शनिबार) उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा महिला समूहले प्रतिष्पर्धा गरेका थिए । प्रतियोतामा तेमाल गाउँपालिका वडा नम्बर ७ चापाखोरीको महिला समूह प्रथम भएको छ । यस समूहले २० हजार नगद पुस्कार प्राप्त भएको छ । त्यसैगरि वडा नं. २ सस्र्यंखर्क दोस्रो स्थान प्राप्त गरी १५ हजार नगद पुस्कार पाएको छ।

त्यसैगरि वडा नम्बर ७ कै समूह तेस्रो भइ नगद १० हजार पुस्कार पाएको छ । वडा नम्बर १ ले भने ५ हजार नगद सहित स्वान्त्वनामा चित्ता बुझाएको छ ।
प्रतियोगितामा लोकदोहोरी गायक मदन गोपाल र सुनिता अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिंह तामाङले सबै समुदायको चाडपर्व, रितिरिवाज, धर्म र सस्कृतिलाई सम्मान गर्ने अभियान अन्तर्गत तीज गीत प्रतियोगिता आयोजना गरेको बताए । ‘हामी एक अर्कोको अस्तित्वलाई स्वीकार गर्न सक्यौ भने मात्रै समृद्ध तेमाल बन्न सक्छ, त्यसको थालनी तपाई हामाी सबै मिलेर गर्ने हो ।’ उनले भने ।

तीज पर्वलाई प्राथमिकतामा राखेर गाउँपालिकाले मनाएको पहिलोपटक हो । यसलाई निरन्तरता दिने गाउँपालिकाका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।