काठमाडौं । नक्कली एटीएम कार्ड बनाईर विभिन्न बैंकहरुबाट पैसा झिक्ने ५ चिनीयाँ नागरिकहरु पक्राउ परेका छन् । पक्राउ परेका चिनियाँ नागरिकहरुमा लिन जैनमेङ, लिओ जाइलेइ, सु लायङगाङ, क्यु युनक्विङ, र चेन बिनबिन रहेका छन् ।
नेपाल राष्ट्र बैंकले आज एक पत्रकार सम्मेलन गरी उनीहरुकोबारेमा जानकारी दिएका हुन् । चिनियाँ ह्याकरले नेपालका तीनवटा वाणिज्य बैंकबाट १ करोड ६८ लाख ५४ हजार ७ सय २० रुपैयाँ झिकेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रभु बैंक, नबिल बैंक र हिमालयन बैंकको एटिएमबाट सो रकम झिकिएको जानकारी गराएको हो ।
नेपाल प्रहरीले गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका प्रतिनिधिले ३ वटा बैंकबाट यो रकम अनाधिकृरुतपमा झिकिएको जानकारी गराएका हुन्।
पत्रकार सम्मेलनमा उपस्थित नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ५ पटकसम्म एटिएम प्रयोग भएको हुनसक्ने बताएका छन् ।
एटिएम बुथमा शंकास्पद गतिविधि गरेको भनि विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक होबिन्द्र बोगटीको टोलीले नबिल बैंकको दरबारमार्गस्थित एटिएम बुथबाट पैसा निकालिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो ।
एउटै व्यक्तिसँग २० वटा भिजाकार्ड फेला पारेपछि थप सोधखोज गर्दै जाँदा बाँकी ४ जना हात्तिरस्थित महोहर बुटिकबाट पक्राउ परेका थिए। उनीहरू ५ जनासँग १३२ थान भिजाकार्ड रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चिनियाँ नागरिकहरू भदौ १३ गते नेपाल आएका थिए भने भदौ १६ गते फर्किने तयारीमा थिए। उनीहरूले विदेशमा योजना बनाएर नेपालमा बिदाको दिन पारी पैसा झिक्ने गरी आएको समेत प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरुको साथबाट १३२ थान नक्कली भिजा कार्डका साथै १७ थान सक्कली भिजाकार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोबाईल ६ थान र ल्यापटप एक थान बरामद गरेको छ।
उनीहरुका साथबाट नेपाली रुपैयाँ १ करोड २६ लाख २९ हजार ४५, अमेरिकी डलर ९ हजार १ सय ८, चिनियाँ युआन १ हजार १ सय ९१, कम्बोडियन रियल ५ हजार र हङकङ डलर ८० बरामद गरिएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।