सर्लाही । ४७ जना भन्दा बढीलाई व्याजको नाममा ठगी गर्ने गर्ने श्यामकृष्ण शाह ‘परदेशी’लाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा शाहलाई पक्राउ गरेको हो । प्रहरीले उनलाइ मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको थियो ।
प्रदेश २ प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले शाहलाई पक्राउ गरिएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले आइतबार साँझ शाहलाई पक्राउ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
महतोका अनुसार लालबन्दी–४ की रुकमणि चौधरीले ठगी सम्बन्धी कसूरमा ६ भदौमा दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । ‘साढे ४ लाख रुपैयाँ ऋण लिएकोमा जबरजस्ती १५ लाख रुपैयाँको कपाली तमसुक बनाएको भन्ने व्यहोरामा जोहरी प्राप्त भएको छ ।’, उनले सुनाए, ‘ठगिएको भनेर उजुरी आएपछि खोजी थालेका थियौं ।’
पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरु मध्ये अधिकांशले त्रासका कारण प्रहरीमा जाहेरी पनि नदिएको जनाइएको छ ।
सर्लाहीका जिल्ला स्तरीय नेताको सहयोगमा काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

Comments

comments