काठमाडौं । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालका कम्युनिष्टहरूले बहुजातीय देशमा संघीयता सम्बन्धी कार्ल मार्क्सको धारणालाई खतराको घण्टी ठानेर लुकाएको बताएका छन् । मंगलबार काठमाडौँको अनामनगरमा नेपाली समाजको प्रगतिशील रूपान्तरणको सन्दर्भमा भएको एक अन्तकृया कार्यक्रममा बताएको हो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले नेपालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र केही जातीय पार्टीहरूले कार्ल मार्क्सले वर्गीय मुक्तिको कुरा मात्र उठाएको भ्रम छरेको बताउँदै भने, ‘बेलायतमा अंग्रेजहरूद्वारा आइरिसहरूमाथि दमन हुँदा बेलायत जस्तो बहुजातीय देशमा सङ्घीय शासनको आवश्यकताबारे सन् १८६७ मा त्यहाँका श्रमजीवीहरूलाई लेखेको पत्र र लेखहरूमा उल्लेख गरेको छ । मार्क्सले जातीय हिंसा भइरहे आइरिसहरूको आत्मनिर्णयको अधिकारको सम्मान गरी तिनिहरूलाई स्वतन्त्रता दिनुपर्ने र त्यसपछि संघीयतामा बाँडिनुपर्ने कुरा समेत उठाएका थिए ।’
नेता श्रेष्ठले आफूहरू एमालेको नेतृत्वमा रहेको बेला बहुजातीय देशमा मार्क्सको यहि धारणा विश्वका कम्युनिष्टहरूले अबलम्बन गरेको सन्दर्भ उठाएको बताए । उनले नेपाल पनि बहुुजातीय भएकाले पहिचानसहितको संघीयताको विकल्प नभएको कुरा उठाएपछि नेताहरू नाजवाफ भएको र पहिचानयुक्त १५ प्रदेश सहितको अवधारणा पारित गरी पहिलो संविधानसभामा समेत पठाएकोमा एमाले नेताहरूले त्यसलाई पारित नगरी जालसाजी गरेको र जनतालाई धोका दिएको बताए ।
नेकपाका नेताहरू साम्प्रदायिक र मनुवादी समेत रहेको बताउँदै मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित लगायतका कतिपय नेताहरू कोटीहोम गरेर साम्यवाद खोज्न हिँडेको बताए । उनले मनुवादी हिन्दू वर्ण व्यवस्थामा व्रम्हाको मुख, पाखुरा, पेट र पैतालाबाट समेत मानव जन्म हुने सिद्धान्त प्रतिपादन गरेको बताउँदै पूर्वीय दर्शनको नाममा यस्ता अबैज्ञानिक दर्शन मान्न नहुने बताए र भने, ‘मुखमा वा पाइतालामा पाठेघर हुँदैन ।’
विश्वमा कम्युनिष्ट मोडेलको राजकीय समाजवाद तथा नेपाली काँग्र्रेसले पश्चिम युरोपको एकल जातीय मुलुकको उदार समाजवाद नक्कल गर्न खोजेकोले दुबै असफल भएको बताउँदै उनले भने, ‘नेपालमा नेपाली काँग्र्रेस र कम्युनिष्ट पार्टीहरू पटकपटक सत्तामा हुँदा पनि यहाँका उत्पीडित राष्ट्रियताहरू मुक्त भएनन् । नेपाल जस्तो बहुजातीय तथा बहुसाँस्कृतिक मुलुकमा सङ्घीयता बिनाको समाजवादले सबैलाई समेट्दैन र देशको समस्या हल हुँदैन । सङ्घीयता बिनाको समाजवाद प्राण विनाको शरीर जस्तै हो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















