भुम्लु । काभ्रेको भुम्लु गाँउपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ४ वटा प्रहरीचौकीलाई मोटरसाईकाल हस्तान्तरण गरेको छ ।
उक्त मोटरसाईकल गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् । भुम्लु गाँउपालिकामा रहेको प्रहरीचौकी फँलाटे, प्रहरीचौकी चौवास, प्रहरीचौकी दोलालघाट र अस्थायी प्रहरी पोष्ट सल्लेभुम्लुले मोटरसाईकल पाएको छ ।
गाँउपालिका भित्रमा शान्ति सुरक्षा कायम गराउन सहयोगी बनोस् भनेर गाँउपालिकाभित्र रहेका चारओटा प्रहरीचौकीलाई उक्त मोटरसाईकल दिएको गाउँपालिकाका अध्यक्ष कुवँरले जानकारी दिएको छ ।
हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकाका अध्यक्ष कुँवरले शान्ति सुरक्षा कायम गराउन सवारी साधनहरु अति आवश्यक रहेकोले गाउँपालिकाले यसको व्यवस्था गरेको बताए । ‘प्रहरी संघ, सरकार र प्रदेश सरकारको मातहतमा रहेपनि हामीले उहाँहरुलाई आवश्यक पर्ने सवारी साधन खरिद गरेर हस्तान्तरण गरेको छौं ।’ कुवरले भने, ‘काभ्रे जिल्लामै पहिलो पटक स्थानीय सरकारले प्रहरीचौकीलाई मोटरसाईकल खरिद गरेर हस्तान्तरण गरेको छौं ।’
मोटरसाईकल बुझ्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले काभ्रेको भुम्लु गाँउपालिकाले उच्च मनोवल पुग्ने हिसाबले प्रहरीलाई सहयोग गरेकोमा खुशी व्यक्त गरे । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाँउपालिकाले प्रहरीको मनोवल उच्च बनाउनको लागि मोटरसाइकल सहयोगी हुने एसपी सापकोटाले बताए ।
गाँउपालिकाको उपाध्यक्ष कल्पना श्रेष्ठले गाँउपालिकाले प्रहरीसँग साझेदारी गरेर अघि बढ्ने बताउँदै्र प्रहरीहरुले जनताको सुरक्षा दिलाउने कार्यमा निरन्तर लाग्न आवश्यक रहेको बताईन् । उनले गाँउपालिकासँग पैसा भएरभन्दा पनि केही सहयोग गरौ भन्ने भावनाको साथमा मोटरसाईकल खरिद गरेको दिएको बताइन् ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले समुदाय प्रहरी कार्यक्रम अन्तगत भुम्लु गाँउपालिकाले निक्कै राम्रो काम गरेको बताए । उनले प्रहरीहरुको मनोवल उच्च बनाउने कार्यमा गाँउपालिकाले सहयोग गरेको बताए ।
भुम्लु गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिवल्लभ घिमिरले गाँउपालिकाले प्रहरीसँग साझेदारी कार्यक्रम अन्तर्गत सो सहयोग गरेको बताए ।
भुम्लु गाँउपालिका फँलाटेका वडाअध्यक्ष रमेशराज खरेलले प्रहरीका लागि खरिद गरिएको मोटरसाइकलले शान्ती सुरक्षामा सुधार आउने आशा व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















