रोशी । काभ्रेको रोशी गाउँपालिकाले बजार अनुगमन गरेको छ । हिन्दुहरुको महान चाड वडा दशैं नजिकिदै गर्दा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बजार अनुगमन गरएको हो ।
अनुगमन रोशी–७ को कटुन्जेवेशी, मंगलटार बजार, नार्के बजार र माम्ती बजारको किराना पसल र होटलहरुको गरिएको हो । अनुमनका क्रममा कम्पनीको सिल, लेभल नभएको र सुरक्षण नभएको जारको पानी, म्याद नाघेको जम्बो डिउ, मिरिण्डा, पाउरोटी, विस्कुट, तेल, घिउ, कुरमुरे, लेज, पफ, मसला, बेसार जस्ता अखाद्य वस्तुहरु फेला पारेको छ । उक्त अखाद्य वस्तुुहरु अनुगमन टोलीका संयोजक डम्बरु दाहाल लगायतको टोलीको रोहबरमा नष्ट गरिएको छ ।

अनुमनका क्रममा रोशी गाउँपालिका अध्यक्ष डिबि मोक्तानले स्थानीय तह गठन भइसकेपछि आफूहरुले पहिलो पटक अनुगमन गरेको बताए । ‘हामीले गरेको यो पहिलो अभियान हो । मानव स्वास्थ्य र यसबाट पर्ने असरलाई मध्यनजर गरी यो कार्यलाई सुरुवात गरेको हो ।’ अध्यक्ष मोक्तानले भने, ‘नजिकिदै गरेको महान चाड दशंै नजिकदै छ, अखाद्य वस्तु विक्रि वितरण गर्ने प्रवल सम्भावना र ग्राहक ठग्ने प्रवल सम्भावना रहेको हुँदा हामीले यो अभियान थालेका हौँ ।’

स्थानीय तहको अधिकार क्षेत्र भित्र रहेर उचित कार्यविधि बनाएर आगामी दिनहरुमा पनि यो कार्यलाई निरन्तरता दिने बताउँदै मोक्तानले रोशीको वि.पी. राजमार्ग वरिपरी मात्र नभई गाउँगाउँमा पनि अनुगमन गरिने प्रतिबद्धता जाहेर गरे ।
अनुगमन क्रममासंयोजक दाहालले आगामी दिनहरुमा व्यवसायीले यस्ता अखाद्य वस्तुहरु वेच्न नदिन र कम्पनी मार्फत् पनि ल्याउन नदिनका लागि यो कार्यको थालनी गरेको बताए । दाहालले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता खाद्य वस्तुहरु नकिन्नको निम्ति ग्राहकहरु पनि सचेत हुनुपर्ने कुरामा जोड दिए ।

त्यसैगरी खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारीले आmफूहरुले जिल्लाबाट गर्नुपर्ने सहयोग कार्यक्षेत्र अन्तर्गत रहेको सबै स्थानीय तहमा गर्न हरदम तयार रहेको बताउँदै रोशीमा आफूहरुले पहिलो पटक अनुगमन गरेको बताए । ‘अनुगमन गर्दै गर्दा रोशी गाउँपालिकामा अखाद्य वस्तुहरु फेला पारेका छौँ । यो एकपटकको अनुगमनले मात्र सधैँको समस्या समाधान हुँदैन ।’ उनले भने, ‘गाउँपालिका आफैले पनि उचित कार्यविधि बनाएर महिना महिनामा अनुगमन गरेमा राम्रो हुने थियो ।’
अनुगमनका लागि रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको संयोजकत्वमा रोशी गाउँपालिका अध्यक्ष डि.वि.लामा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काभ्रेका खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारी, जिल्ला प्रशासन कार्यालय काभ्रेका नायव सुब्बा कृष्ण सापकोटा, इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक धर्मजंग थिङ, प्रहरी चौकी कटुन्जेवेशीका प्रहरी सहायक निरीक्षक महेश्वर दाहाल, रोशी गा.पा. प्रशासन शाखा प्रमुख धनवीर तामाङ, राजश्व शाखा प्रमुख राजन श्रेष्ठ, प्रेस सल्लाहकार सृजना तामाङ तथा बजार अनुगमन फोकल पर्सन सचिव जय प्रसाद गजुरेलको टोलीले अनुगमन गरेको हो ।

अनुगमनको निम्ति पसल ÷ व्यवसाय दर्ता गरेको, मूल्य सूची राखेको, स्थायी लेखा नं. लिएको, कर चुक्ता गरेको, गाउँपालिकामा सूचिकृत भएको, म्याद नाघेका सामग्री, सामान उपयोगको समयावधि बाँकी, पसलभित्र सरसफाई, सामानको उपयुक्त भण्डारण, लेवल नभएको खाद्य सामाग्री, प्रमाणित ढक, तराजु, माना, पाथी, लिटर, प्लाष्टिकको झोलाको प्रयोग, आफ्नो पसल वरिपरि सफा राखेको जस्ता सूचकहरुमा रोशी गाउँपालिकाले अनुगमन गरेकोे थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















