दाइजोमा मागे अनुसारको सामान नदिएको भन्दै बिहीबार रौतहटमा एक महिलाको हत्या भएको छ । मोटरसाइकल दाइजो नदिएको भन्दै राजपुर नगरपालिका ७ अकोलवामा २५ वर्षीया सन्जु देवीको हत्या भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल नपाएको भन्दै छोरीमाथि पटक पटक ज्वाई रामबाबुले कुटपिट गर्ने गरेकाे मृतकका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीमा उल्लेख  छ ।
केही महिनाअघि कान्छी छोरीको बिहेमा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले आफूलाई पनि मोटरसाइकल चाहियो भनेर सन्जुमार्फत् माग्न लगाएको अविलासले बताए । केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु र ससुरा मोहन सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी नविन कार्कीले बताए । घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

Comments

comments