मकवानपुर । प्रदेश नम्वर ३ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न बनेको विधेयक २०७६ बहुमतले पारित गरिएको छ ।
उक्त विधेयक प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पारित गरियोस् भनि बैठकमा प्रस्ताव राखेका थिए । बैठकमा राखिएको उक्त विधेयकमाथि बहुमतले पारित गरिएको हो ।
सो विधेयकमाथि छलफलमा उठेको जिज्ञासालाई मुख्यमन्त्री पौडेलले प्रदेशको १३ जिल्लामा विकासको पूर्वाधार निर्माण र अर्धन्यायीक कार्यालयको भूमिकालाई सेवामुखी बनाउन निजामति कर्मचारीहरुको आवश्यक परेकोले कानूनी प्रकृया अवलम्वन गरी कर्मचारी नियुक्ति र दरबन्दीको पदस्थापन गर्नको लागि लोकसेवा आयोगको भूमिका प्रदेशमा आवश्यकता परेको बताए ।
सोही बैठकमा लोकसेवा आयोगको विधेयकमाथि प्रदेशसभाका सदस्यहरुले लोकसेवा आयोगलाई राजनितिक दलको हस्तक्षेपबाट मुक्त राखी निष्पंक्षका साथ कर्मचारी नियुक्ति गर्नुपर्ने सुझाव दिए ।
त्यस्तै बैठकमा एउटा विधेयकको प्रतिवेद पनि प्रस्तुत गरिएको छ । बैठकमा अर्थ तथा विकास समितिका सभापति रमा आले मगरले सार्वजनिक, नीजि सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन प्रस्तुत गरेकी हुन् । प्रदेशसभाको अर्को बैठक भोली भदौ २५ गते दिनको २ बजेको लागि बोलाईएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















