काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपनिर्वाचन नजिकीदै गर्दा यसको तयारीको लागि आज (बुधबार) पार्टी सचिवालयको बैठक बसेको छ । पार्टीको सचिवालय बैठकले उपनिर्वाचन तयारीबारे निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबारे जानकारी दिँदै उपनिर्वाचनबारे छलफल र निर्णय भएको जानकारी दिए ।
‘आजको सचिवालयको बैठकले निकट भविष्यमा हुन गइरहेको संघीय संसद प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ ।’ प्रवक्ता श्रेष्ठले भने ।
निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ । जसका लागि दल दर्ता गर्नेबारे सूचना जारी गरिसकेको छ । नेकपाको एकताको बाँकी काम आगामी बैठकबाट गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।