काभ्रे । नेपाल सरकारले नागरिकहरुले स्वास्थ्य सेवामा सहज पहुँच राख्ने गरी ल्याएको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेमा शुरुवात भएको छ । जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख उद्धव केसीलाई पहिलो सदस्यता प्रदान गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा दोश्रो सदस्यता पनौती नगरपालिकाका प्रमुख भिम न्यौपाने, तेश्रो सदस्यता मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, चौथो सदस्यता बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले प्राप्त गरेका छन् ।
त्यसैगरि पाँचौ नम्वरको सदस्यता बनेपा नगरपालिकाका उपप्रमुख रेखा सापकोटा दाहालले प्राप्त गरेकी छिन् ।

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

गुणस्तरीय स्वास्थ्य सेवामा प्रभाव पार्ने, आर्थिक जोखिम न्यूनिकरण गर्ने, नागरिक प्रति उत्तरदायित्व बहन गर्ने उदेश्यले उक्त कार्यक्रम शुरु गरिएको हो । नेपालमा ५१ लाख ५० हजार नागरिकले बीमा कार्यक्रममा भाग लिएका छन् भने दोश्रो वर्षको नविकरणमा ७५ प्रतिशतको मात्रै सहभागिता रहेको छ । ६ लाख घर परिवार सहभागि भएको उक्त कार्यक्रममा ५ जना सदस्य बराबर एक परिवारका रुपले बार्षिक ३५ सय रुपैयाँ तोकिएको छ ।
प्रति परिवार ५ जना भन्दा बढी सदस्य भए प्रति थप सदस्यको ७ सयका दरले रकम तिर्नु पर्ने छ । बीमा गरे पछि बहिरङ्ग, अन्तरंङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरु उपलब्ध हुनेछन् भने ५ जनासम्मको परिवारले आवश्यक पर्दा बार्षिक रु १ लाख सम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछन् । ५ जना भन्दा धेरै सदस्य भएको हकमा प्रती सदस्य २० हजारका दरले अधिकतम २ लाख रुपैयासम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउनेछ ।
सदस्यता शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन सुझाव दिए । ‘सेवा प्रभावकारी बनाउन सकिएन भने बीमा प्रति नागरिकको विश्वास र चासो कम हुनेछ ।’ केसीले भने । मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले स्थानीय नागरिकहरुको स्वास्थ्यमा ध्यान पुर्याउन विपन्न नागरिकहरुको समेत पहुँच पुग्ने गरी प्रभावकारी बनाउन सुझाव दिए । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले कार्यक्रमलाई प्रभावकारी बनाउन नागरिकहरुको विश्वास जित्नु पर्नेमा जोड दिए ।

Comments

comments