काठमाडौं । नेपाली र मलेसियाली प्राविधिक कमिटीको बैठकले हाल बन्द अवस्थामा रहेको मलेसिया रोजगारी खुलाउने निर्णय गरेको छ । नेपाली कामदारहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी खोल्ने निर्णय गरेको हो ।
तर स्वास्थ्य परीक्षणका लागि पुरानै ३६ वटा स्वास्थ्य संस्थाहरु कायम रहने गरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए ।
‘नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठक सकिएको छ । मलेसिया र नेपालबीच भएको श्रम समझदारीको औपचारिक कार्यान्वयन हुने भएको छ ।’ घिमिरेले भने । ‘बैठकमा मलेसियाले तत्काल ३६ वटा स्वास्थ्य संस्थाबाट कामदारको स्वास्थ्य परीक्षण गर्ने र विस्तारै नेपाल सरकारले छनोट गरी सूचीकृत गरेका १ सय २२ वटा स्वास्थ्य संस्थालाई पनि क्रमबद्ध थप्दै लैजाने निर्णय भएको छ ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय अनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो ।
रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















