काभ्रे । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गाउँ–गाउँमा समृद्धिको अभियान विषयगत सहकारीबाट चलाईने बताएकी छिन् । काभ्रे जिल्ला सहकारी संघको ५२ औं स्थापना दिवस तथा ३८ औं साधारणसभा विहिबार (आज) उद्घाटन गर्दै मन्त्री अर्यालले उक्त कुरा बताएकी हुन् ।

‘सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको संख्या घटाएर कम गर्ने र कृषिमा आधारित विषयगत सहकारीको संख्या बढाइने नीति सरकारको रहेको छ ।’ उनले भने ‘गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयगत सहकारी आवश्यक छ ।’

मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताउँदै फरक ढङ्गले सहकारीमार्फत विकासका काममा अघि बढाउने बताईन् । उनले सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिन अनुरोध गरिन् ।

सरकार किसान र सहकारीमैत्री
कार्यक्रमलाई सम्बोधन गर्दै सरकार किसानमैत्री रहेको बतबाईन् । ‘सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेको छ ।’ उनले भने, ‘यति बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गर्न चाहन्छु ।’

सरकारले भू–उपयोग ऐन सरकारले पास गरेको र अब कार्यान्वयनका निम्ति नियमावली बनाउँन लागेको बताउँदै उनले आफ्नो जमीन आफैँले प्रयोग गर्न अनुरोध गरे । ‘हामी भूमि व्यवस्थापन नगरी नहुने परिस्थितिमा पनि छौँ ।’ उनले भनिन्, ‘भूमिको बेथिति हटाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन हामी हिम्मतका साथ अगाडि बढेका छौँ, यसमा तपाईहरुले साथ दिनुपर्दछ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मी सहकारीको मूल्य–मान्यताअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकार सहकारीमैत्री भएकाले आन्दोलनमा जानु नपर्ने बताए ।

पत्रकार गुराइगाईं सम्मानित
कार्यक्रमा सहकारी क्षेत्रमा योगदान पुर्याए वापत बरिष्ठ पत्रकार मधुसुधन गुरागाईंलाई सम्मान गरेको थियो । २०५० साल देखि २०५३ सालसम्म नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.मा सञ्चालक भएर काम गरेको, सोही सहकारीमा २०५३ सालदेखि ०५६ सालसम्म लेख सुपरिवेक्षण समितिमा रहेर काम गरेका पत्रकार गुरागाईंलाई सम्मान गरेको हो ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले संस्थाको वार्षिक नीति, योजना र कार्यक्रम प्रस्तुत गरेका थिए । सचिव दिलिप शर्माले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण उपाध्ययले आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितका संयोजक प्रेमबहादुर भुजेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।