अशोक बुद्ध लामा
धुलिखेल । काभ्रे जिल्लामा स्वच्छ खानेपानी र सरसफाई क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने जिल्लाकै अग्रणी संस्था शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेलको २० औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रको आज (शुक्रबार) धुलिखेलमा एक भव्य कार्यक्रमकाबीच साधारणसभा सम्पन्न भएको हो ।
केन्द्रको साधारणसभाको उद्घाटन प्रमुख अतिथि तथा गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष जितराम लामाले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले केन्द्रले समाजमा विकृति बिसंगति न्युनिकरण गर्न धेरै स्मरणीय काम गरेको चर्चा गर्दै खानेपानीको क्षेत्रमा उल्लेखनीय कार्य गरेकोमा संस्थाको प्रशंसा गरे । ‘यस संस्थामा कार्यरत व्यक्तिहरु विभिन्न उच्चा उहोदामा पुगेका छन् ।’ उनले भने, ‘हालको सरकारले गर्दा मुलुभरि सामाजिक समस्या चरम अवस्थामा पुगेको छ । यसलाई सरकारले तुरुन्त सम्बोधन हुनुपर्छ ।’
त्यसैगरि कार्यक्रमको अतिथि तथा गैरसरकारी महासंघ काभ्रेको उपअध्यक्ष दावा लामाले द्वन्द्वको अबस्थामा पनि यस सस्ंथले शान्तिको कार्यक्रम गरेको स्मरण गर्दै शैक्षिक बेरोजगारीले रोजगारी पाएको बताए । लामाले राजनीतिक भेदभाव रहित विकास निर्माणमा शान्ति जन आदर्श लागेको बताए ।
नाङशाल एशोशियनका अध्यक्ष दिनेश लामाले केन्द्रले समुदायसँग समुदायको लागि उल्लेखनीय कार्य गरेको बताउँदै गैरसरकारी संस्थालाई सरकारले अनुकुल बाताबरण नबनाएकोमा दुःख व्यक्त गरे ।
२०४८ मा मंगलटारमा स्थापना गरिएको संस्थाले विश्व बैक, एसियाली बिकास बैक, सामुदायिक खानेपानी तथा सरसफाइ आयोजना, गरिबी निवारण कोष, यूएनडीपि, सेभ द चिल्ड्रेन, केयर नेपाल, कारितास नेपाल, डिकेएच जर्मनी तथा द लुथरन वल्ड फेडेरेशनको सहयोग र साझेदारीमा ग्रामीण सामुदायको लागि हालसम्म ७० भन्दा बढी नयाँ खानेपानी आयोजनाहरुमा कार्य गरिसकेको अध्यक्ष शंखबुद्ध लामाले बताए । त्यसैगरि खानेपानीको पूरानो संरचनाहरु समेत मर्मतसम्भारमा समेत विभिन्न कार्य गर्दै आएको अध्यक्ष लामाले बताए ।
‘सबै आयोजनाबाट लगभग ६० हजार जनसंख्याले सफा पिउने पानी सुविधा पाएका छन् भने झन्डै ४५ हजार जनसंख्याले सरसफाइ सम्बन्धि परियोजनाहरुबाट लाभान्वित भइसकेको छ ।’ अध्यक्ष लामाले भने, ‘वि.सं. २०७२ सालको भुकम्प पश्चचात भुकम्प पिडितको लागि स्थायी आवास निर्माण, पा्रविधिक सहयोग र दर्जानौ सामुदायिक पुर्वाधार निर्माण, पुनःनिर्माणका विभिन्न परियोजनाहरसबाट २५ हजार घरधुरी प्रत्यक्ष लाभान्वित भइरहेको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















