काठमाडौं । मलेसिया सरकारसँग नयाँ श्रम संझौता गरेपछि वैदेशिक रोजगामा मलेसिया जाने श्रमिकको लागि अब सहज हुने भएको छ ।
मलेसियाको रोजगारीमा नेपाली श्रमिकमाथी आर्थिक भार थोपर्दै आएका र स्वास्थ्य परिक्षणमा सिण्डिकेट चलाएका संस्थालाई भने यस सम्झौताले नराम्ररी झड्का दिएको छ ।
श्रमिकको पक्षमा भएको संझौतमा के के छ त ?
अबदेखि कामदारले कुनै पनि शुल्क तिर्नुपर्दैन । रोजगारमा जाँदा र आउँदा रोजगारदाताले नै हवाई टिकटको व्यवस्था गरिदिनु पर्नेछ । अबदेखि मलेसिया रोजगारीमा जाँदाको सेवा शुल्क आतेजाते हवाइ टिकट भिसा शुल्क स्वास्थ्य तथा सुरक्षा जाँच लगायतका खर्च रोजगारदाताले नै व्यहोर्ने छ ।
समझदारी अनुसार नेपाली श्रमिकलाई लाग्ने लेभी तिर्नुपर्दैन् । न्यूनतम पारिश्रमिक प्रतिमहिना (हाल नेरु ३० हजार) नघटने गरी प्रत्येक महिनाको ७ गते बैङ्क खातामा अनिवार्य भुक्तानी हुनेछ ।
परिवारको सदस्यको मृत्युमा १५ दिनको बिदा पाउने र श्रमिकको मृत्यु भएमा रोजगारदाताले नै शव नेपाल पठाउने व्यवस्था गर्नु पर्नेछ । मलेसियाको नागरिक सरह नेपाली श्रमिकको दुर्घटना र स्वास्थ्य बीमाको व्यवस्था हुनेछ ।
आफ्नो पासपोर्ट आफै राख्न पाउने र कम्पनी खारेज भएमा वा दुव्र्यवहार गरेमा करार समाप्त भएमा श्रमिकले आफै रोजगारदाता छनौट गर्न पाउने व्यवस्था सहमतिमा छ ।
यस्तै नेपाली मलेसिया विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्य स्थलमा लैजानु पर्ने र करार सकिएपछि नेपाल फर्कदा हवाइ टिकट रोजगारदाताबाट व्यवस्था हुनेछ ।
रोजगारदाताले नेपाली महिला कामदारको सुरक्षा सुनिश्चित गर्नु पर्नेछ । कुनै विवाद तथा मुद्दा चल्दाको अवधिमा भिसा सकिए पनि मलेसिया बस्न पाइने व्यवस्था सम्झौताले गरेको छ । करार अवधि २ वर्षको मात्रै हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।