बेथानचोक । पूर्वीय मान्यता अनुसार जन्म तिथिमा अष्टचिरञ्जिविको पूजा आजा गरि जन्मदिन मनाइन्छ । पछिल्लो समयमा केक काटेर बत्ती निभाएर मनाइने जन्मदिनलाई काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाकी कक्षा ९ मा पढ्ने एक छात्राले आफ्नै विद्यालयमा अध्ययनरत साथीहरुको पढाइमा सहयोग पुग्ने काम गरी मनाएकी छिन् ।

पार्वती माध्यमिक विद्यालय बेथानचोक–२ मा अध्ययनरत छात्रा दिपिका तिमल्सिनाले आफ्नो जन्मदिन विद्यायमै मनाउने र भाइ बहिनीहरुलाई सहयोग गर्ने बताए पछि विद्यालयमा उनले एक कार्यक्रम नै आयोजना गरेकी थिइन् । उनको जन्मदिन मनाउन उनका पिता मोहनकृष्ण तिमल्सिना तथा माता रञ्जना तिमल्सिनाले आवश्यक खर्च जुटाइदिएका थिए ।
कार्यक्रममा पार्वती मा.विका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा, पार्वती बहुमखी क्याम्पसका क्याम्पस प्रमुख प्रताप कार्की, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बलराम अधिकारी लगायत विद्यालयका सबै शिक्षकहरुको उपस्थिति थिए ।
कार्यक्रममा दिपिकाले बाल विकास केन्द्र देखि कक्षा ५ सम्म पढ्ने १ सय ८० विद्यार्थीहरुका लागि कापी, डडपेन, सिसाकलम तथा शिक्षकका लागि दैनिक पाठयोजना निर्माणका लागि भन्दै डायरी तथा कलम वितरण गरेकी थिइन् ।

‘यो सबै छोरीको इच्छा अनुसार नै गरेको हो । साना भाईबहिनीहरुको पढाइमा सहयोग पुगोस भन्ने उसको चाहना अनुसार करिब ४० हजारको स्टेसनरी सामग्री खरिद गरिदिएको हुँ ।’ उनका बाबु मोहनकृष्ण तिमल्सिनाले बताए ।
त्यसै गरि उनकी आमा रञ्जना तिमल्सिना भन्छिन, ‘छोरी आफूपनि पढाइमा मेहनती छिन । र उनको अरुको पढाइमा पनि सहयोग गर्दा खुशी हुने गर्छिन । हरेक जन्म दिन उनको यसै गरी मानाउने चाहना छ । त्यस अनुसार नै हामीले यो कार्यक्रम आयोजना गरेका हांै ।’

विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा छात्रा दिपिकाको प्रशंसा गर्दै भन्छन्, ‘मेहनती र लगनशिल छात्रा दिपिकाको यो कार्य सह्रानीय छ । सानै उमेरमा समाजसेवाको भावना भएकी उनलाई अरुका लागि पनि आदर्श छात्राको रुपमा लिनुपर्छ ।’ उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षक दामोदर सुवेदीले गरेका थिए । यो दिपिकाको १४ औ जन्म वर्ष हो । यस अघि पनि उनले बेथानचोक नारायण आधारभूत विद्यालयमा पढने विद्यार्थीहरुका लागि स्टेसनरी वितरण गरेकी थिइन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















