तेमाल । राष्ट्रिय वालदिवस–२०७६ को अवसरमा तेमाल गाउँपालिकाले तेमालका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । तेमाल गाउँपालिकामा आज (आईतबार) वालदिवसको अवसरमा गाउँपालिका अध्यक्ष सलामसिं तामाङले सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष तामाङले उत्कृष्ट भएका सबै विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिंदै विद्यालयमा शिक्षकहरुले विद्यार्थीहरुको पढाई प्रति ध्यान दिन निर्देशन दिएका थिए । ‘सर मिसहरुलाई अलि ध्यान दिनुपर्छ, नजिकबाट विद्यार्थीको अवस्था हेरिदिनुपर्छ ।’ उनले भने, ‘विद्यार्थीहरुले पनि ध्यान दिएर पढ्नुपर्छ । एकीकृत ध्यान गरेर पढे सगरमाथाको चुचुरो चुम्न सकिन्छ ।’

यो आर्थिक वर्षमा शिक्षालाई गुणस्तरीय बनाउन बजेट अघिल्लो आर्थिक वर्षमा भन्दा बढी विनियोजन गरेको अध्यक्ष तामाङले जानकारी दिए । ‘शिक्षालाई गुणस्तरीय बनाउन आर्थिक वर्ष ०७६।०७७ मा अलि बढी बजेट छुट्याउने काम भएको छ ।’ उनले भने, ‘वालमैत्री शौचालय, अपांग मैत्री विद्यालय बनाउने छौ ।’

आगामी शैक्षिक सत्रदेखि फोर जीपीए ल्याउने उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृत गर्ने योजना बनाएका उतले बताए । कार्यक्रममा विद्यार्थीले तेमालको शैक्षिक अवस्था देखि विकास निर्माणको प्रश्न गरेपछि अध्यक्ष तामाङले अभिभावकले उठाउनुपर्ने कुरा विद्यार्थीले उठाउन नसुहाउने बताए । ‘असडक बिकासको कुरा गरेको थियो एउटा भाईले । यो अभिभावकले बोल्ने हो ।’ उनले भने, ‘बाल अधिकार भित्र रहेर मात्रै बोल्नुपर्छ ।’

कार्यक्रममा तेमाल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेलले बाल अधिकार र बालदिवसको विषयमा चर्चा गरेका थिए । साथै कुईंकेलले सर्वोत्कृष्ट घोषणा गर्ने, पुरस्कृत गर्ने कार्यक्रम यथावत रहेको बताए ।

त्यसैगरि तेमाल गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा सामाजिक विकासका संयोजक लक्ष्मी घिसिङले विद्यार्थी, अभिभावक र शिक्षकमा चेतनाको विकास हुन आवश्यक रहेको बताए । विशेष गरि तामाङ समुदायको विद्यार्थीहरुले शिक्षामा आफूलाई अब्बल बनाउन नसकेकोमा दुःख व्यक्त गरे ।

कार्यक्रममा तेमाल गाउँपालिकाकै एसईईमा उत्कृष्ट भएका श्री कुशेश्वर माविका विद्यार्थी ज्ञानबहादुर रायमाझीले शिक्षाको साथसाथमा सडक विकासमा पनि ध्यान दिन तेमाल सरकारलाई सुझाव दिए । यसैबीच उत्कृष्ट जनज्योती माविका राज कुमार दोङ, नारायणस्थान माविका अञ्जली तामाङ र नारायणस्थान माविका प्रअ दिलकुमार लामाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा तेमाल गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालयमा अध्ययनरत गरी एसइइ परिक्षा २०७५ मा उत्कृष्ट भएका छात्र र छात्राहरु तथा आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा २०७५ मा गाउँपालिकास्तरमा उत्कृष्टता हासिल गर्ने छात्र र छात्राहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु लगायतका उपस्थिति रहेका थिए ।

एसईई परिक्षामा कुशेश्वर मावि उत्कृष्ट

२०७५ सालको एसईई परिक्षामा सामेल भई तेमाल गाउँपालिका वडा नं. ९ मा रहेको श्री कुशेश्वर मावि तेमालकै उत्कृष्ट विद्यालय बनेको छ । कुशेश्वर माविका ज्ञानबहादुर रायमाझीले ३.४५ जीपीए ल्याई तेमालकै प्रथम बनेका हुन् । दोस्रोमा कुशेश्वर माविका रंगिना लामा र जनज्योति माविका सुनिता थपलिया भएका छन् ।

तेस्रो हुनेमा भूमे माविका सज्जन तामाङ, सर्वोद्धर माविका सुरज तामाङ, नारायणस्थान माविका अञ्जली तामाङ रहेका छन् । चौथो हुन सफल हुनेमा जनचेतना माविका निश्चल तामाङ, राधाकृष्ण माविका रामशरण मैनाली रहेका छन् । पाँचौंमा जनज्योति माविका सुशिला लामा र जनचेतना माविका संगम तामाङ र छैंठौंमा जनज्योति माविका रमेश मैनाली र नारायणस्थान माविका सृजना श्रेष्ठ रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















