काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्था विरुद्ध षड्ण्न्त्र गर्नेहरुको कडा प्रतिवाद गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । स्वर्गीय नेता पोष्टबहादुर बोगटीको आज पार्टी कार्यालयमा भएको स्मृति सभा कार्यक्रमलाई सम्बोन गर्दै अध्यक्ष प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

‘केही त्यस्ता तत्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुहोस् ।’ अध्यक्ष प्रचण्डले भने । ‘अब हामी अगाडि बढ्ने भनेको समाजवादको दिशामा नै हो । त्यसैका लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, समर्पित र अनुशासित कम्युनिष्ट पार्टी, लाखौँ–करोडौँ जनताको भरोसा जित्नसक्ने पार्टी निर्माणका क्रममा छौँ ।’
उनले यसरी जनताको मन जित्ने र समाजवादको यात्रा पुरा गर्ने काम कम चुनौतीपुर्ण नभएको पनि स्पष्ट पारे । ‘हामी पुँजिवाद, साम्राज्यवाद र व्यक्तिवादी विचलनबाट समेत घेरिएको अवस्थामा समाजवादमा जाने प्रयासमा छौँ ।’ उनले भने, ‘समाजवादतर्फ हिँडेका छौँ, तर यो सिस्टम कलिलो छ । यसलाई मार्न सकिन्छ कि भनेर कोही छटपटिएको हामी देख्छौँ । यस्तो बेलामा यो परिवर्तनलाई रक्षा गर्न र समाजवादको सपना पुरा गर्न हामी सबैले संकल्प गर्न अवाश्यक छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















