काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले केही महिनायता फैलिइरहेको डेंगु रोगबारे अनुसन्धान गरेर सजगता अपनाउन सरकारलाई सुझाव दिएको छ। डेंगु रोगबारे आवश्यक अनुसन्धान नगरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सोमबार पत्रकार सम्मेलन गरी यो रोगबारे मिहीनरूपमा अनुसन्धान गरिएको प्रष्टयाएको हो।
यो रोग लाग्नुको कारणबारे मिहीनरूपमा अनुसन्धान भइसकेको परिषदका अध्यक्ष डा। अञ्जनीकुमार झाले जानकारी दिए। उनले यो रोगबारे अनुसन्धान नै नभएको भन्ने भनाईमा सत्यता नरहेको पनि दाबी गरे। परिषदले डेंगु लाग्न नदिन जनचेतनामूलक कार्यक्रम सुरु गर्ने पनि घोषणा गरेको छ। परिषदका अध्यक्ष झाले डेंगु लाग्न नदिने गरी जनचेतनामूलक कार्यक्रम संचालन गरिने बताए। घर भित्र र घर वरपर विशेष ढंगले सफाई गरे डेंगुको संक्रमण नहुने परिषदले जनाएको छ। परिषदले यो रोग लाग्ने लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर पानी जम्न दिन नहुनेतर्फ पनि सचेत गराएको छ।
यस्तै परिषदका अध्यक्ष डा झाले हाल डेंगुले महामारीको रुप नलिएको तर प्रकोप भने निम्त्याएको बताए। उनले भने, ‘अहिलेकै अवस्थालाई माहामारी भन्न मिल्दैन। तर यही अवस्थामा नियन्त्रण गर्न सकिएन भने महामारीको रुप लिन्छ। हालको अवस्था प्रकोप हो।‘ यस्तै परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले समेत हाल फैलिएको डेंगुलाई नियन्त्रण गर्न नसकिए महामारीकै रुप लिने बताए।
बैशाखको पहिलो हप्ता सुनसरीबाट फैलिएको डेंगु हाल देशका ४८ भन्दा जिल्लामा फैलिएको छ। सरकारी तथ्याङ्क अनुसार ७ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन्।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।