काठमाडौं । झापाको बिर्तामोड नगरपालिका–४ स्थित अनुल सारु मगरको कोठामा प्रहरीले छापा मारेको छ । मगरको कोठालाई विप्लब समूहले आफ्नो कार्यालयको रुपमा प्रयोग गर्दै आएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।
उक्त कोठा छापा मार्दा झापा जिल्ला सेक्रटरी, जनसरकार प्रमुखसहित ३ जना पक्राउ परेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त कोठामा मंगलबार बिहान छापा मारे हुन् ।
छापा मार्दा के–के भेटियो ?
मगरको कोठाबाट कटुवा पेस्तोल २ थान, गोली ४ राउन्ड, आर्थिक सहयोग सम्बन्धी पत्रहरु, परिपत्रहरु, विभिन्न माइन्युट बुकहरु, डायरीहरु, दस्तावेजहरु, सहयोग रसिदहरु, किताबहरु लगायतका विभिन्न सामग्रीहरु बरामद गरिएको अनारमनीका डिएसपी मोहन थापाले बताए ।
को–को पक्राउ परे ?
उक्त हतियार र दस्तावेजसहित प्रहरीले बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर भीमफेदी गाउँपालिका–२ का २६ वर्षीय अनुल सारु मगर, बिर्तामोड नगरपालिका–४ मेघाबारी चोक बस्ने झापा हल्दिबारी गाउँपालिका–५ का ४४ वर्षीय टीका पोखरेल र इलाम माङसेबुङ गाउँपालिका–१ बस्ने मनिष भन्ने ३४ वर्षीय प्रविन मिश्रलाई पक्राउ गरेको छ ।
पक्राउ परेका मिश्र झापा जिल्ला सेक्रटरी हुन् भने पोखरेल जनसरकार प्रमुख हुन् । मगर भने कार्यकर्ता रहेको डिएसपी थापाले बताए ।
पोखरेल र मिश्रलाई बिर्तामोड नगरपालिका–४ मेघाबारी चोकबाट मे ६ प ७३०८ नम्बरको मोटरसाइकल, मोबाइल ५ थान, डायरी १ थान, आर्थिक सहयोग सम्बन्धी पत्र ७ थान, विभिन्न परिपत्र २ पाना र टीकाराम पोखरेलको नाममा रहेको लाइसेन्स १ थानसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु दुई जना पक्राउ परिसकेपछि थप अनुसन्धान गर्ने क्रममा अनुल सारु मगरको कोठा खानतलासी गर्दा कोठामा लुकाइछिपाइ राखेको हतियार र कागजात बरामद भएको प्रहरीले जनाएको छ ।प्रहरीले प्रतिबन्धपछि विप्लव नेकपाका कार्यकर्ताबाट ठूलो मात्रा हतियार बरामद गर्दै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















