काठमाडौं । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन । यो खबर आजको नेपाल समाचारपत्रमा छ । लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले नै कुटपिट गरेका थिए । गृह मन्त्रालयमा भेटघाट गर्न भन्दै नेकपाका पाँच जना द्धन्द्ध पीडित कार्यकर्ताहरुले गेटबाट पास लिएर सिंहदरवार प्रवेश गरेका थिए । लामो समयसम्म कुर्दा पनि भेट्न पालो नआएपछि नेकपाका कार्यकर्ताहरुले समय मिलाइदिन स्वकीय सचिव विष्टलाई दबाब दिएका थिए । स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेका थिए । लामो समय कुर्दा पनि समय नपाएपछि भेट्ने पालो कुरेर बसेका कार्यकर्ताहरुले आफ्नै पार्टीको मन्त्रीलाई पनि भेट्न नपाउने भन्दै आक्रोश व्यक्त गर्दै कुटपिट गरेको एक प्रत्यक्षदर्शीले नेपाल समाचारपत्रलाई बताए । । ती प्रत्यक्षदर्शीका अनुसार साँझ ६ बजेसम्म पनि भेट्न पाउने÷नपाउने विषयमा भनाभन भएपछि दुई जना कार्यकर्ताले स्वकीय सचिव विष्टमाथि कुटपिट गरेका थिए ।
देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन् । सोही पार्टीको रेणु झा उपप्रमुखमा जितेकी छिन् । उमेरका हिसाबले आमा–छारो जस्तै देखिने दवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार देखिन्थ्यो ।
जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो । हुँदाहुँदै उनीहरुबीचको विवाद ज्यानै लिनसक्ने अवस्थासम्म पुग्यो । पटकपटक दुई समूहबीच भएको झडपमा परी स्थानीय तपेश्वर मण्डलको मृत्यु भएको हो ।
उनको मत्यु प्रकरणमा नगरप्रमुख मण्डल, उपप्रमुख झासहित केही वडाका अध्यक्षमाथि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । उनीहरु सबै गिरफ्तारी पर्ने डरले कार्यालय जाँदैनन् । यो समाचार नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।

Comments

comments