आजको दिन मुलुकमा नेपाली जनताको प्रतिनिधिहरुले संविधान लेखेको दिन हो । नेपालको इतिहासमा पहिलोपटक जनताको प्रतिनिधिले लेखेको यो संविधान लागु भएको ४ वर्ष पूरा भयो ।
यो क्षण गौरवको क्षण हो । इतिहासमा सबै पुस्ताले यस्तो ऐतिहासिक गौरबको क्षण प्राप्त हुनै सक्दैन । त्यस अर्थमा हाम्रो पुस्ता गौरवको पुस्ता भएको छ ।
यो गौरवको क्षणमा अर्थात संविधान दिवसको क्षणमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै यो संविधान निर्माणका लागि बलिदान दिनुहुने १० वर्षे महान जनयुद्ध, महान जनआन्दोलन लगायतका विभिन्न मुक्तिकामी आन्दोलनका महान सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै बेपत्ता, घाइते योद्धहरु प्रति उच्च सम्मान पनि व्यक्त गर्न चाहन्छौं ।
नेपाली जनताको त्याग र बलिदानको परिणाम नै यो संविधान हो । २ सय ५० वर्षे राजतन्त्रको अन्त्य गरेर जनता नै यो देशको असली मालिक हो भन्ने कुराको परिणाम नै यो संविधान हो । यो संविधानमा नेपाली जनताको पूर्ण अधिकारको ग्यारेन्टी गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।